कांग्रेसभित्र गुटको राजनीति अन्त्य भइसकेको छ : विनोद चौधरी

काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट नवलपरासी क्षेत्र नं. १ का प्रतिनिधिसभा उम्मेदवार विनोद चौधरीले कांग्रेस पार्टीभित्र गुटको राजनीति अन्त्य भइसकेको दाबी गरेका छन् ।
बर्दघाट नगरपालिका–७ मा आयोजित कांग्रेस कार्यकर्ता छलफल तथा भेटघाट कार्यक्रममा बोल्दै उनले विगतमा पार्टीभित्रको गुटगत प्रवृत्तिका कारण तेस्रो पक्षले फाइदा लिने अवस्था रहेको उल्लेख गरे । अहिले भने त्यो अवस्था समाप्त भइसकेको उनको भनाइ छ ।
चौधरीले नेपाली कांग्रेस स्पष्ट विकास एजेण्डासहित अघि बढिरहेको बताउँदै स्थायी सरकार, आर्थिक रूपान्तरण र रोजगारी सृजना नै पार्टीको वर्तमान प्राथमिकता रहेको स्पष्ट पारे । आफू यस क्षेत्रमा नयाँ अनुहार नभएको उल्लेख गर्दै स्थानीय समस्या र आवश्यकताबारे पूर्ण रूपमा जानकार रहेको उनले बताए ।
आफ्नो पाँच वर्षे कार्यकालमध्ये जम्मा ३० महिना मात्र सांसदको रूपमा काम गर्न पाएको स्वीकार गर्दै उनले अझै धेरै काम गर्न बाँकी रहेको बताए । “बाँकी रहेका काम पूरा गर्ने प्रतिबद्धता छ,” उनले भने ।
उनका अनुसार यस क्षेत्रको सबैभन्दा जटिल समस्या नागरिकताको थियो, जसको समाधान नेपाली कांग्रेसको नेतृत्वमा पछिल्लो ३० महिनामै भएको छ । भूमि सम्बन्धी कामहरू पनि तीव्र रूपमा अगाडि बढिरहेको उनको भनाइ छ ।
यी उपलब्धिहरूले यस क्षेत्रमा विकासको आधार तयार भएको उल्लेख गर्दै चौधरीले अब त्यसलाई थप गति दिनुपर्ने आवश्यकता रहेको बताए ।








