चुनीखेल आगलागीबाट २४ परिवार विस्थापित

काठमाडौं । मंगलबार मध्यरातमा काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-१३, चुनीखेलस्थित नयाँबस्तीमा भएको आगलागीले ठूलो क्षति पुर्‍याएको छ । आगलागीका कारण टहरामा बस्दै आएका २४ विपन्न परिवार विस्थापित भएका छन् । राति करिब १०ः४५ बजे एक्कासि सल्किएको आगोले बस्तीको ठूलो हिस्सालाई चपेटामा लिएको थियो ।

आगो नियन्त्रणभन्दा बाहिर जान लाग्दा आगोको घेरामा फसेका ७ जनालाई तत्कालै सकुशल उद्धार गरिएको छ । घटनालगत्तै काठमाडौं महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका र टोखा नगरपालिकाका दमकलहरू घटनास्थल पुगेका थिए । दमकल, सुरक्षाकर्मी र स्थानीयवासीको करिब साढे दुई घण्टाको निरन्तर प्रयासपछि बुधबार बिहान सवा १ बजेतिर आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो ।

वडाध्यक्ष टिकानारायण श्रेष्ठका अनुसार आगलागीबाट २४ कोठा भएको लामो टहरा पूर्ण रूपमा जलेर नष्ट भएको छ । ‘विभिन्न जिल्लाबाट राजधानी आएर कोठा भाडामा लिई बसोबास गरिरहेका २४ परिवारको बासस्थान खरानी भएको छ,’ वडाध्यक्ष श्रेष्ठले भने, ‘उहाँहरू सबैको बिचल्ली भएको छ ।’

विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । यद्यपि, प्रहरीले आज घटनास्थलको मुचुल्का उठाई क्षतिको यकिन विवरण संकलन गर्ने जनाएको छ ।

अचानक आइपरेको विपत्तिका कारण घरबारविहीन भएका पीडितहरूलाई तत्कालका लागि नजिकैका अन्य सुरक्षित टहराहरूमा आश्रय दिइएको छ । वडा कार्यालयले पीडित परिवारका लागि तत्काल खाद्यान्न, लत्ताकपडा तथा अन्य अत्यावश्यक राहत सामग्री उपलब्ध गराउने तयारी तीव्र पारेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =