आसन्न निर्वाचनमा झापा ५ मा ओलीले नै जित्ने हो: पृथ्वीसुब्बा गुरुङ

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले झापा क्षेत्र नम्बर ५ मा पार्टीका अध्यक्ष केपी शर्मा ओली नै विजयी हुने दाबी गरेका छन् ।

प्रेस चौतारी नेपालले मङ्गलवार काठमाडौँमा आयोजना गरेको संवाद कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

उपाध्यक्ष गुरुङले रास्वपाका उम्मेदवार बालेन्द्र साहले काठमाडौँको सुकुम्वासी बस्तीमा, गरिखाने सडकका जनतामाथि डोजर चलाएर बालेन्द्र साहले झापा ५ मा निर्वाचन जित्नै नसक्ने जिकिर गरे । उनले बालेनले त्यहाँको सुकुम्वासीहरूलाई लालपुर्जा दिन्छ भन्ने भ्रममा नपर्न पनि झापा ५ का सुकुम्वासी नागरिकहरूलाई अपिल गरे ।

बालेनको विगत, वर्तमान र भविष्य हेर्ने हो भने पनि उनले सुकुम्वासीलाई लालपुर्जा वितरण गर्दछन् भनेर विश्वास गर्न नसकिने उपाध्यक्ष गुरुङको भनाई थियो । उनले रास्वपाले विभिन्न झुटा प्रचार गरेर एमालेको निर्वाचन अभियानलाई कमजोर बनाउने नियतका साथ झापा ५ मा पार्टी अध्यक्ष ओलीसँग चुनावी प्रतिस्पर्धाका लागि बालेनलाई उम्मेदवार बनाएको समेत बताए ।

उपाध्यक्ष गुरुङले आसन्न निर्वाचनमा एमाले पहिलो पार्टी बन्ने पनि बताए ।

उनले भने ‘काठमाडौँको सुकुम्वासी बस्तीमा डोजर चलाउने बालेनजी होइन ? काठमाडौँको गरीखाने सडकका मान्छेलाई डोजरले हटाउने बालेनजी होइन ? अनि त्यही व्यक्तिले झापामा गएर सुकुम्वासीलाई लाजपूर्जा दिन्छु भन्ने कुराको विश्वास गर्ने हो भने जनताले धोका पायो । म सबै जनतालाई अनुरोध गर्न चाहन्छु–धोकामा नपर्नुस् । विगत हेर्नुस् । हिजोका कुरा हेर्नुस्, अस्तिका कुरा हेर्नुस् । र आज के हुँदैछ, भोली के कुरा भन्दैछ ? यस्ता कुरामा विश्वास नगर्नुस् भन्न चाहन्छु पहिलो कुरा । दोस्रो कुरा निकै ठुलो डिजाइनका साथ बालेनलाई त्यहाँ पठाइयो । त्योभित्र एउटा एमाले भित्र टेन्सन सृजना गर्ने भन्ने छ । हाम्रो अध्यक्ष जो, १६५ वटै निर्वाचन क्षेत्रमा जानुपर्ने व्यक्ति हो नि उहाँ चुनावको लागि । त्यसकारण एमालेको चुनावी अभियानमा पनि कमजोर होस भन्ने मनसायका साथ यो काम गरिएको छ । तेस्रो भनेको हल्ला नै हल्लाको देश हो नि यो । झुट, फरेव साराका सारा लगाएर त्यहाँका जनतालाई झुक्याउन सकिन्छ कि ? भन्ने प्रयत्न गर्न खोजिएको हो । सुरुका दिनमा त जित्यो बालेनले भनिएको हो । २१ गते पुगोस् न । जित्ने त केपी ओलीले नै हो । अहिलेसम्मको अनुभवमा हाम्रो अभियान पहिलो पार्टी बनाउने हो, हुन्छौँ ।’

उपाध्यक्ष गुरुङले आसन्न निर्वाचनमा जनताले नयाँ अनुहार नभई सुधारसहितको पुरानै राजनीतिक दलहरूलाई चाहेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − two =