पश्चिमी वायुको प्रभाव, यी क्षेत्रमा वर्षा र हिमपातको चेतावनी

काठमाडौं । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ । यसका कारण देशको मौसमी प्रणालीमा फेरबदल आएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज बिहानैदेखि कोशी र मधेस प्रदेशका केही स्थानहरूमा बाक्लो हुस्सु लागेको छ भने पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदलीको अवस्था छ । तराईका अधिकांश भूभागमा लागेको कुहिरो र हुस्सुका कारण जनजीवन र यातायातमा सामान्य असर परेको छ ।

दिउँसो कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको मौसमविद्हरूको पूर्वानुमान छ । गण्डकी प्रदेशका केही उच्च क्षेत्रमा हिउँ पर्ने सम्भावना रहेकाले त्यहाँको तापक्रममा थप गिरावट आउन सक्ने देखिन्छ । बाँकी देशभरको मौसम भने सामान्यतया आंशिक बदली रहनेछ ।

राति पनि कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात र वर्षाको सिलसिला जारी रहने महाशाखाले बुलेटिनमार्फत जानकारी दिएको छ । तराईका भूभागमा रातिको समयमा पनि हुस्सु लाग्ने सम्भावना छ ।

बदलिँदो मौसम र चिसोका कारण हुन सक्ने स्वास्थ्य समस्या तथा यातायातको अवरोधबाट बच्न महाशाखाले सर्वसाधारणमा अनुरोध गरेको छ । विशेषगरी पदयात्रामा जाने पर्यटक र तराईमा यात्रा गर्ने सवारी चालकहरूलाई सावधानी अपनाउन भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 14 =