पश्चिममा वर्षा र हिमपात, काठमाडौंमा पनि पानी पर्ने

काठमाडौं । नेपालमा सक्रिय भएको पश्चिमी न्यून चापीय प्रणालीका कारण बुधबार सुदूरपश्चिमदेखि पूर्वसम्मै वर्षा र हिमपात भएको छ । मंगलबार साँझ सुदूरपश्चिमबाट भित्रिएको यो मौसमी प्रणालीले विशेषगरी पहाडी र तराईका भूभागमा वर्षा गराएको छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार यस प्रणालीको सबैभन्दा तीव्र प्रभाव सुदूरपश्चिम प्रदेशमा देखिएको छ । पछिल्लो १२ घण्टामा डडेलधुरामा सबैभन्दा धेरै २९.६ मिलिमिटर वर्षा मापन गरिएको छ । हिजो साँझबाटै सुरु भएको वर्षा राति झनै सशक्त बनेको थियो । हाल यो प्रणाली क्रमशः पूर्वतर्फ सरिरहेकाले अहिले कर्णाली र लुम्बिनी प्रदेशमा वर्षाको मात्रा बढेको विभागले जनाएको छ ।

वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार पानी पार्ने बादल छिटो गतिमा पूर्वतिर सर्दै गरेकाले यसको प्रभाव कोशी प्रदेशसम्मै पुग्ने देखिएको छ । ‘बादल पूर्वतर्फ सर्ने क्रम जारी छ,’ पौडेलले भने, ‘सुदूरपश्चिममा वर्षा कम हुँदै गए पनि मध्य र पूर्वी भेगमा यसको प्रभाव देखिन थालेको छ ।’

काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा आज बिहानैदेखि बादल लागेको छ । विभागका अनुसार काठमाडौंमा आज घाम लाग्ने सम्भावना निकै कम छ भने मध्याह्नपछि हल्का वर्षा हुने पूर्वानुमान गरिएको छ । उपत्यकाका सबै स्थानमा एकनासको नभई छिटपुटदेखि हल्का वर्षा हुने सम्भावना रहेको मौसमविद्को भनाइ छ ।

वर्षासँगै देशका उच्च पहाडी र हिमाली जिल्लाहरूमा मध्यमदेखि भारी हिमपात भइरहेको छ । विशेषगरी मनाङ, मुस्ताङ र पूर्वी पहाडी जिल्लाका हिमाली भेगमा हिमपात भइरहेकाले ती क्षेत्रको जनजीवन प्रभावित भएको छ । मधेश प्रदेश र पूर्वी तराईका झापा लगायतका केही जिल्लाबाहेक मुलुकका अधिकांश भूभागमा आज हल्का वर्षा हुने विभागको बुलेटिनमा उल्लेख छ ।

मौसमी प्रणाली निकै गतिशील रहेकाले लामो समयसम्म प्रभाव नरहने देखिएको छ । विभागका अनुसार आज साँझदेखि नै वायुमण्डलको बादल हट्ने र मौसममा क्रमिक रूपमा सुधार आउनेछ । वर्षा र हिमपातका कारण देशैभर चिसो बढेकाले आवश्यक सतर्कता अपनाउन र यात्रा गर्दा विशेष ध्यान दिन मौसमविद्हरूले सुझाव दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − thirteen =