संवैधानिक तथा न्यायिक पत्रकार मञ्चमा खड्का

काठमाडौं । संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको आज सम्पन्न साधारणसभाले राष्ट्रिय समाचार समिति (रासस) का समाचारदाता कालिका खड्काको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

नेपाल बार एसोसिएसनको सभाहलमा आज भएको साधारणसभाले सर्वसम्मतरूपमा खड्कालाई पुनः अध्यक्षमा निर्वाचित गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा भाषा शर्मा (नेपाल न्यूज), महासचिवमा निराजन पौडेल (रातोपाटी) र कोषाध्यक्षमा शिल्पा कर्ण (नयाँ पत्रिका) तथा सदस्यहरूमा अर्जुन श्रेष्ठ (रेडियो नेपाल), सविन धमला (नान), मदन ढुङ्गाना (लोकपथ), दिनेश गौतम (अन्नपूर्ण) र किरण पौडेल (कान्तिपुर टिभी) चयन हुनुभएको छ । सभाले महासचिवको साङ्गठनिक र कोषाध्यक्षको आर्थिक प्रतिवेदन छलफलसहित पारित गरेको थियो ।

साधारणसभाको उद्घाटनसत्रमा मञ्चका अग्रज कृष्णमुरारी भण्डारीले अदालतबाट हुने आदेश र फैसलालाई गहनरूपमा अध्ययन गरेर कमीकमजोरी भएमा सुझावसहित कानुन पत्रकारहरूले समाचार सम्प्रेषण गर्नुपर्ने बताए ।

मञ्चका पूर्व अध्यक्ष यम विरहीले न्यायालय एक प्रकारले शिथिल भएको अवस्थामा सञ्चारमाध्यमले संवेदनशील भएर काम गर्नुपर्ने बताए । ‘जस नेपाल’ अनलाइनका प्रधानसम्पादक अरुण बरालले मञ्चले अदालती रिपोर्टिङका साथै अर्धन्यायिक निकाय र स्थानीय न्यायिक समितिसम्म रिपोर्टिङ गर्न सक्नुपर्नेमा जोड दिए ।

संवैधानिक र कानुनी विषयमा विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको सो संस्था २०६१ सालमा विधिवत दर्ता भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 4 =