आसन्न निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीले बहुमत ल्याउँछ: वामदेव गौतम

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गरेका छन् ।
मंगलवार काठमाडौँमा आयोजित क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका एकता पक्षसँगको समायोजन कार्यक्रममा बोल्दै उनले सो जिकिर गरेका हुन् ।
नेता गौतमले निर्वाचनमा विजयी भएपछि आफ्नो पार्टीको सरकारले बेरोजगारी समस्याको अन्त्य गर्नेगरी समाजवादको आधार तयार पार्ने समेत बताए । उनले हरेक विद्रोहलाई शान्तिमा परिणत हुनेगरी वामपन्थी शक्तिहरुबीचको एकता अभियानलाई आफूहरूले अघि बढाएको पनि बताए ।
नेता गौतमले भने ‘अब यो विद्रोहलाई पनि शान्ति दिन सक्ने क्षमतासहित हाम्रो पार्टी विकसित भइसकेको छ । हाम्रो पार्टीले यही फागुन २१ गते हुने निर्वाचनमा बहुमत हासिल गर्छ । बहुमत हासिल गर्नसाथ हामीले समाजवादको आधार कसरी सृजना हुनेछ भन्ने हामीले गरेर देखाइदिनेछौ । र कुनै पनि व्यक्ति काम गर्न नपाउने गरी बेरोजगार हुनुपर्ने अवस्था सदाको लागि अन्त्य हुनेछ । सभ्यता र समृद्ध हामीले हासिल गरेर देखाइदिनेछौँ । त्यो ठाउँमा जान हामी तयार भइराखेका छौँ ।’
नेता गौतमले साना साना नदीरुपी पार्टीहरूलाई मिलाएर आफ्नो पार्टीले समुन्द्रको रूपमा लिएको बताए ।










