निर्वाचनको जिम्मेवारी बोकेका मन्त्रीहरू मैदान छाडेर भाग्नुभयो: सांसद श्रेष्ठ

काठमाडौँ । नेपाली काँग्रेसका राष्ट्रिय सभा सांसद किरणबाबु श्रेष्ठले संविधानलाई सही दिशामा लैजाने एक मात्र उपाय निष्पक्ष निर्वाचन भएको बताएका छन् ।

मङ्गलवार बसेको राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उनले सबै राजनीतिक दलहरूको चाहाना अनुरूप नै देश निर्वाचनमा होमिएको बताए ।्

निर्वाचनको जिम्मेवारी बोकेका मन्त्रीहरूले भने अन्तिम समयमा जिम्मेवारी छाडेर भागेको उनले आरोप लगाए । निर्वाचन गर्ने जिम्मेवारीलाई छाडेर आफैँ चुनावी मैदानमा होमिनुले गम्भीर नैतिक प्रश्न उठाएको उनको भनाई छ ।

उनले मन्त्रीहरू नै पदबाट हटेर चुनाव लड्न हिँड्नुले निष्पक्ष चुनाव हुनेमा शंका पैदा भएको पनि बताए । राजीनामा दिएर निर्वाचन लड्न पाउने संवैधानिक अधिकार भएपनि यसले गम्भीर नैतिक प्रश्न भने उठाएको उनको भनाई छ ।

उनले भने ‘संविधानलाई डिरेलबाट रेलमा ठिक लिगमा ल्याउने भनेको निर्वाचन नै हो । त्यही महसुस गरेर अहिले हामी सबै राजनीतिक दलहरू निर्वाचनमा होमिएका छौँ । अब यो निर्वाचनमा होमिँदै गर्दा म एउटा गम्भीर नैतिक प्रश्न पनि बोकेर यहाँ उभिएको छु, निर्वाचन गर्न जिम्मेवारी बोकेका मन्त्रीमण्डलका मन्त्री महोदयहरू मैदान छाडेर भाग्नुभयो । अन्तिम कालमा मैदान छाडेर भाग्नुभएको छ । बिस्तारै पर्दा खोलिँदै छ, हिजोको आन्दोलनको र अबको दिनका पर्दाहरू अझ भोली खोलिँदै जालान् । मन्त्रीहरू आ–आफ्नो पार्टी र ओडार खोज्दै निर्वाचनमा हिँडिसक्नु भएको छ । यसबाट के बुझिन्छ रु हिजो मन्त्री पदमा बस्ने, शपथ खाने, निर्वाचन गर्ने अभिभारा बोक्ने, तर निर्वाचन हुनुभन्दा पहिला नै त्यहाँबाट भाग्ने ? अब कस्तो निष्पक्ष चुनाव गराउने ? हामी अनुमान गरौँ । मन्त्री पदमा बस्दा दिएका उहाँहरूका सत्ता शक्ति गाडी घोडा त्यसको दुरुपयोग गरेर आफू चुनाव लड्ने क्षेत्रमा प्रयोग भयो की भएन होला ? अनि त्यसबाट निष्पक्ष चुनाव होला ? हामीले शंका गर्ने ठाउँ रहन्छ । राजीनामा दिएर चुनाव लड्न पाउने उहाँहरूको अधिकार हो तर नैतिक प्रश्न आज उठेको छ । यो नैतिक प्रश्नको जवाफ जनताले चुनावी मैदानमा दिने नै छन् ।’

उनले मन्त्री बनेकाहरू नै विभिन्न पार्टी प्रवेश गर्ने तथा आफ्नै पार्टी खोलेर चुनावी प्रतिस्पर्धामा होमिनुले जेन–जी आन्दोलन, सरकारी संयन्त्रमाथिको आगजनी लगायतका घटनाक्रमका ‘पर्दा’हरू बिस्तारै खुल्न थालेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − fourteen =