देश ‘ब्ल्याक लिस्ट’तर्फ धकेलिन सक्ने खतरा छ: सांसद भट्टराई

काठमाडौँ । नेकपा एमालेका सांसद गोपाल भट्टराईले सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिन गरेको निर्णयप्रति आपत्ति जनाएका छन् ।

मङ्गलवार बसेको राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उनले हाल नेपाल ‘ग्रे लिस्ट’मा रहेको अवस्थामा यस्ता संवेदनशील मुद्दा कमजोर पार्ने कार्यले देशलाई ‘ब्ल्याक लिस्ट’तर्फ लैजाने खतरा बढेको बताए ।

सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणजस्ता गम्भीर मुद्दामा राज्य संयन्त्र नै लागेर अपराधलाई प्रोत्साहन गर्ने हो भने अब देश ब्ल्याक लिस्टमा जानबाट कसले रोक्न सक्छ रु उनको प्रश्न छ । नेपालले सम्पत्ति शुद्धीकरण नियन्त्रणसम्बन्धी कानुन निर्माण र कार्यान्वयनका लागि विभिन्न अन्तर्राष्ट्रिय सम्झौतामा हस्ताक्षर गरेको उनले उल्लेख गरे ।

तर सम्पत्ति शुद्धीकरण र सङ्गठित मुद्दालाई कमजोर बनाउने निर्णयले नेपाल अझै गहिरो सङ्कटतर्फ धकेलिन सक्ने सङ्केत देखिएको उनको भनाई छ । यसले विदेशी शक्तिहरूको चलखेल बढ्ने र देशलाई खाल्टोतिर लैजाने सम्भावना रहेको उनले बताए । यस्ता कार्यलाई रोक्न संसद्मा व्यापक बहस आवश्यक रहेको उनले बताए ।

उनले भने ‘अहिले देश ग्रे लिस्टमा छ । सङ्गठित अपराध, सम्पत्ति शुद्धीकरण जस्ता मुद्दालाई कमजोर बनाउन राज्य संयन्त्र नै लागेर अपराधहरूलाई प्रोत्साहन गर्ने हो भने अब ब्ल्याक लिस्टमा जान कसैले रोक्न सक्छ ? अब त देश ब्ल्याक लिस्टतिर जाने खतरा बढ्यो । कानुन निर्माण गरेर सम्पत्ति सुद्धिकरण गर भन्ने अन्तर्राष्ट्रिय समुदायको आग्रहमा हामीले हस्ताक्षर गरेका छौँ । यसले के देखाउँछ भने अझै देशलाई खाल्टोतिर लैजाने, विदेशी शक्तिहरूले चलखेल गर्ने सम्भावना बढ्दै गएको छ । यस्ता क्रियाकलाप रोक्न संसदमा व्यापक बहस गर्न जरुरी छ । यो सरकार निर्वाचन गराउन र सुशासन कायम गर्ने म्याण्डेल लिएर बनेको थियो । सुशासनको नाममा राजनीतिक नेताहरूको उछितो काट्ने काम भयो ।’

महान्यायाधिवक्ताको कार्यालयले विभिन्न सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका रास्वपा सभापति लामिछानेमाथि लगाइएका ‘सङ्गठित अपराध’ र ‘सम्पत्ति शुद्धीकरण’ सम्बन्धी मुद्दा परिमार्जन गरी फिर्ता लिने निर्णय गरेको थियो । उक्त निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट पनि परेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − two =