संसद् भवनमा आगो लगाउने व्यक्ति रास्वपाबाट उम्मेदवार, रविलाई भन्थे ‘सहकारी ठग’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा संसद भवनमा आगो लगाउने व्यक्ति रास्वपा (राष्ट्रिय स्वतन्त्र पार्टी)ले उम्मेदवार बनाएको सार्वजनिक भएको छ । मोरङ–२ बाट उम्मेदवार कृष्णकुमार कार्कीको सामाजिक सञ्जालमा २४ भदौमा संसद भवन जलाएको दृश्य फैलिएको छ ।
रतुवामाई नगरपालिका–९ का स्थानीय कार्की भर्खरै वैदेशिक रोजगारीबाट फर्किएका हुन् । उनका नजिकका स्रोतका अनुसार उनी आन्दोलनको केही दिनअगाडि मात्रै नेपाल फर्किएका थिए । तर, अकस्मात् २४ भदौमा भएको आगलागीमा उनको तस्वीर र भिडियो टिकटक तथा फेसबुकमा देखिएको थियो ।
उक्त दृश्यमा कार्की आफ्ना समर्थकसहित बानेश्वरस्थित संसद भवनमा पुगेको र आगो लगाउन सघाएको देखिन्छ । उनले तोडफोड र आगजनीमा संलग्न भएको स्वीकारेका छन्, तर संसद भवनको कुर्सी मात्र आफूले जलाएको र भवनमा भएको आगो अन्यले लगाएको बताए ।
कार्कीले राजनीतिक दलका नेताहरूको घरमा गरिएको विध्वंसमा आफ्नो संलग्नता स्वीकार गरेका छन् । उनले बालाजुदेखि सोह्रखुट्टे, ठमेल, दरबारमार्ग, रानीपोखरी, सिंहदरबारसम्म नेताहरूको घरमा आगजनीमा संलग्न रहेको बताएका छन् ।
अघिल्लो निर्वाचनमा रास्वपाले ठगेन्द्र न्यौपानेलाई उम्मेदवार बनाएको थियो । यसपटक कार्की टिकट पाएका छन् । उनी १२ वर्ष जापानमा बसेर फर्किएका हुन् । उनका प्रारम्भिक सामाजिक सञ्जाल पोस्टहरूमा उनले रवि लामिछानेलाई ‘सहकारी ठग’ भनेर उल्लेख गरेका पनि देखिन्छ ।








