हिंसात्मक अभिव्यक्ति नदिने कागज गरेपछि स्वागत नेपाल छुटे

काठमाडौं । हिंसालाई प्रोत्साहन गर्ने खालका अभिव्यक्ति नदिने प्रतिबद्धता जनाउँदै स्वागत नेपाल प्रहरीको साइबर ब्यूरोबाट छुटेका छन् ।
झापा घर भएका ५० वर्षीय नेपालले लोक आवाज नेपाल नामक युट्युब च्यानलमार्फत हिंसा फैलाउने प्रकारको अभिव्यक्ति दिएको भन्दै साइबर ब्यूरोले अनुसन्धानका लागि बोलाएको थियो । झापा क्षेत्र नम्बर २ बाट राप्रपाको तर्फबाट उम्मेदवारसमेत भइसकेका नेपालले पृथ्वी नारायण शाहको विरोध गर्नेलाई काट्न तयार छु भन्ने अभिव्यक्ति दिएका थिए ।
उक्त अभिव्यक्तिपछि साइबर ब्यूरोले उनलाई काठमाडौंको भोटाहिटीस्थित कार्यालयमा उपस्थित गराएको थियो । सो क्रममा नेपालले अबदेखि कानून विपरीत र हिंसालाई उक्साउने खालका अभिव्यक्ति नदिने तथा प्रचलित कानूनको पालना गर्ने प्रतिबद्धता जनाउँदै कागज गरेको साइबर ब्यूरोले जनाएको छ ।
कागज गरेपछि उनलाई छाडिएको साइबर ब्यूरोका एसपी दीपकराज अवस्थीले जानकारी दिए ।










