सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार पुग्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दैनिक नयाँ कीर्तिमान बनाउँदै ऐतिहासिक उचाइ कायम गरेको छ । पछिल्लो केही दिनयता निरन्तर बढिरहेको सुनको भाउ सोमबार एकैदिन प्रतितोला ५ हजार २०० रुपैयाँले वृद्धि भई हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको कारोबार प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा भइरहेको छ । यो नेपाली सुन बजारको इतिहासमा अहिलेसम्मकै महँगो मूल्य हो ।
सुनको भाउमा देखिएको यो वृद्धिदर अस्वाभाविक र तीव्र छ । आइतबार मात्रै सुनको मूल्य तोलामा २ हजार ४०० रुपैयाँले बढेर ३ लाख ३ हजार ८०० रुपैयाँ पुगेको थियो । त्यसअघि शुक्रबार एकैदिन तोलामा ९ हजार २०० रुपैयाँको भारी वृद्धि हुँदा सुनको भाउले पहिलो पटक ३ लाखको सीमा पार गर्दै ३ लाख १ हजार ४०० रुपैयाँ कायम भएको थियो ।
तथ्याङ्क अनुसार गत बिहीबार सुन प्रतितोला २ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यसयताका चार दिनमा सुनको मूल्यमा करिब १७ हजार रुपैयाँभन्दा बढीको वृद्धि देखिएको छ ।
सुनसँगै चाँदीको भाउमा पनि उल्लेखनीय वृद्धि भएको छ । सोमबार चाँदी प्रतितोला २८५ रुपैयाँले बढेर ६ हजार ७६५ रुपैयाँ पुगेको छ । आइतबार चाँदी तोलाको ६ हजार ४८० रुपैयाँमा कारोबार भएको थियो भने शुक्रबार ६ हजार १९० रुपैयाँ थियो ।










