कांग्रेस सभापति थापा आज मधेश झर्दै

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज मधेश प्रदेश निस्कँदै छन् । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि सर्लाही क्षेत्र नं. ४ बाट उम्मेदवार बनेका थापा चुनावी प्रचारप्रसार र घरदैलो अभियानलाई तीव्रता दिन त्यता जान लागेका हुन् ।
पार्टी स्रोतका अनुसार थापा बिहान १०:३० बजेको हवाई उडानमार्फत काठमाडौँबाट सिमरा प्रस्थान गर्ने तालिका रहेको छ । सिमरा अवतरण भएलगत्तै उनी सडकमार्ग हुँदै आफ्नो नयाँ निर्वाचन क्षेत्र सर्लाही-४ पुग्नेछन् । सर्लाहीमा रहँदा उनले निर्वाचन लक्षित विभिन्न कार्यक्रम, कार्यकर्ता भेला र स्थानीय मतदाताहरूसँगको अन्तक्रियामा समय व्यतित गर्ने कार्यक्रम तय भएको छ ।
लामो समयदेखि काठमाडौँ क्षेत्र नं. ४ बाट निरन्तर निर्वाचन जित्दै आएका थापाले यसपटक भने आफ्नो चुनावी मैदान परिवर्तन गरेका हुन् । काठमाडौँको राजनीतिक विरासतलाई छाडेर मधेशको चुनावी मैदानमा उत्रिने उनको निर्णयलाई राजनीतिक वृत्तमा निकै अर्थपूर्ण र रणनीतिक कदमका रूपमा हेरिएको छ ।










