कुलमान घिसिङको पार्टीका १५ केन्द्रीय सदस्यले छाडे पार्टी

काठमाडौं । कुलमान घिसिङ नेतृत्वको राजनीतिक अभियान उज्यालो नेपालका १५ जना केन्द्रीय सदस्यले पार्टी परित्याग गरेको औपचारिक घोषणा गरेका छन् । उनीहरूले आगामी राजनीतिक यात्राबारे भने खुलाएका छैनन् ।
हस्ताक्षररहित विज्ञप्ति जारी गर्दै उनीहरूले तत्काल कुनै दलगत गतिविधिमा संलग्न नहुने र विचार, मूल्य तथा नागरिक सरोकारका आधारमा क्रियाशील रहने जनाएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘यसलाई कुनै दलप्रति समर्थन वा विरोधका रूपमा नभई नागरिक चेतना र साझा हितको अभ्यासका रूपमा बुझिदिन अनुरोध गर्दछौं ।’
उज्यालो नेपाल त्याग्ने केन्द्रीय सदस्यमा डा. विशालकुमार भण्डारी, डा. अभिसेकराज सिंह, डा. घनश्याम पाण्डे, डा. सागर ढकाल, विशाल गैरे, सरला लामिछाने, सुजन श्रेष्ठ रहेका छन् । त्यस्तै कुशुम घिमिरे, क्षितिज भण्डारी, मीनराज आचार्य, रजिया बुनु, निर्देश सिलवाल, देवेन्द्र श्रेष्ठ र संजिव भट्टराई पनि पार्टी छोड्नेमा छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपालबीचको एकता भंग भएपछि यी नेताहरू कुलमान घिसिङसँग असन्तुष्ट बनेका थिए । उनीहरूले अडानमा लचकता अपनाएर भए पनि एकता जोगाउनुपर्ने धारणा राख्दै आएका थिए ।
उज्यालो नेपालको कोटाबाट रास्वपाको बन्दसूचीमा समेटिएकी रिमा विश्वकर्मा भने रास्वपामै कायम रहेकी छन् । यस्तै, डा. तारा जोशीलाई रास्वपाले डडेलधुराबाट प्रत्यक्ष निर्वाचनमा उठाएको छ भने अरविन्द साहलाई बारा–३ बाट उम्मेदवार बनाएको छ ।
उज्यालो नेपालका अन्य १५ जना केन्द्रीय सदस्य पनि रास्वपामा समायोजन हुन चाहेका थिए । रास्वपा उपसभापति डा.स्वर्णिम वाग्लेले उनीहरूमध्ये केहीलाई केन्द्रीय समितिमा समायोजन गर्न सभापति रवि लामिछानेसमक्ष प्रस्ताव लगेको तर अस्वीकार भएको बताइएको छ ।










