हवल्दारसहित १७ प्रहरी सम्पर्कविहीन भएको सूचना

काठमाडौं । लामो समयदेखि कार्यक्षेत्रमा अनुपस्थित रहेका १७ जना प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयले सात दिनभित्र सम्पर्कमा आउन अन्तिम चेतावनी दिएको छ । विभिन्न मितिदेखि आफूखुसी गैरहाजिर रहेका उनीहरूलाई सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन मुख्यालयले आइतबार सार्वजनिक सूचना जारी गरेको हो ।

कार्यालयका अनुसार गत कात्तिक र मंसिर महिनादेखि नै कार्यक्षेत्र छाडेर सम्पर्कविहीन हुनेहरूमा एक जना प्रहरी सहायक निरीक्षक (असई), एक जना प्रहरी हवलदार र एक जना सहायक हवलदार रहेका छन् । त्यसैगरी, ११ जना प्रहरी जवान र तीन जना कार्यालय सहयोगी पनि महिनौँदेखि कार्यालयको सम्पर्क बाहिर रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यसअघि उनीहरूको खोजतलास गर्ने क्रममा घर ठेगानामा सूचना टाँस गर्दा समेत कुनै जानकारी प्राप्त नभएपछि मुख्यालयले सार्वजनिक सूचनाको सहारा लिएको हो । ड्युटी छाडेर हिँडेका ती कर्मचारीहरूलाई बाटोको म्याद बाहेक सात दिनभित्र आफू गैरहाजिर हुनुको मनासिब कारण खुलाएर सन्तोषजनक जवाफसहित उपस्थित हुन निर्देशन दिइएको छ ।

तोकिएको समयावधिभित्र पनि चित्तबुझ्दो स्पष्टीकरणसहित हाजिर नभएमा ती कर्मचारीहरूलाई प्रहरी नियमावलीअनुसार भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने चेतावनी दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + nine =