गैँडाकोटमा कांग्रेसको वडा समितिसहित सबै भातृ संस्थाले दिए सामूहिक राजीनामा

गैँडाकोट । आसन्न निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियामा राजनीतिक चलखेल र ‘फोहोरी राजनीति’ भएको भन्दै पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका वडा नम्बर १८ मा नेपाली कांग्रेसको सिङ्गो वडा समिति र भातृ संस्थाहरूले सामूहिक राजीनामा दिएका छन् ।
शुक्रबार बसेको वडा समिति र भातृ संस्थाहरूको संयुक्त बैठकले पार्टीभित्र मौलाएको गुटबन्दी र उम्मेदवार चयनमा भएको अपारदर्शी निर्णयको विरोध गर्दै सामूहिक राजीनामा दिने निर्णय गरेको हो । वडा कार्यसमिति, नेपाल महिला संघ, नेपाल तरुण दल र नेपाल विद्यार्थी संघका स्थानीय एकाइहरूले संयुक्त विज्ञप्ति जारी गर्दै आफूहरू अब पार्टीको जिम्मेवारीमा नरहेको घोषणा गरेका हुन् ।
जारी विज्ञप्तिमा भनिएको छ, ‘हालसम्म नेपाली कांग्रेसको संगठन विस्तार र सुदृढीकरणमा अहोरात्र खटिएर वडालाई उच्च स्थानमा पुर्याउन हामीले पुर्याएको योगदान सर्वविदितै छ। तर, आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवार तय गर्दा नेतृत्वबाट भएको राजनीतिक चलखेल र फोहोरी खेलले इमान्दार कार्यकर्ताको भावनामा गहिरो चोट पुगेको छ ।’
वडा समितिले पार्टीको आधिकारिक निर्णयप्रति कडा आपत्ति जनाउँदै ‘एक भोट दुख, एक भोट अर्को’ भन्ने नारासहित आजकै मितिदेखि वडाका सम्पूर्ण जिम्मेवारीबाट अलग भएको जनाएको छ ।









