बदलिएको कांग्रेसले देश बदल्छः गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापाले बदलिएको काँग्रेसले देशलाई बदल्ने संकल्पका साथ निर्वाचनमा होमिएको बताएका छन् ।
पार्टी कार्यलय सानेपामा सम्बोधन गर्दै उनले नयाँ जोश र जाँगरका साथ पार्टीको सिंगो पंक्ति नै निर्वाचनमा होमिएको बताएका हुन् । उनले काँग्रेसलाई आफूहरुले बदलेकोले देश पनि बदल्ने सामथ्र्य आफूहरुको रहेको बताए ।
उनले सम्पूर्ण पार्टीका नेता कार्यकर्ताहरुलाई एकजुट भएर पार्टीका उम्मेद्वारलाई जिताउन लाग्न पनि आग्रह गरे ।
उनले उम्मेद्वारीमा भएका कमीकमजोरी, पार्टीभित्र देखिएका मतभिन्नता, पार्टीका अन्तरसंघर्षका विषयमा निर्वाचनपछि खुल्ला हृदयले छलफल गर्नेगरि फागुन २१ गतेसम्म दायाँवाया नहेरिकन एकढिक्का भएर मतदाताको बीचमा जान आग्रह गरे ।
उनले २०७९ सालको निर्वाचनमा काँग्रेस भएर रुखमा मतदान गर्न नपाएको मतदाताले यसपटक रुख चिन्हमा नै मतदान गर्न पाउनेगरि सुधार गरिएको भन्दै उनले मतदाताले पनि बदलिएको काँग्रेसलाई विश्वास गर्नुपर्ने बताए ।
उनले निर्वाचनमा स्वच्छ प्रतिष्पर्धा गर्न पनि राजनितिक दलहरुलाई आग्रह गरे । आफ्ना एजेण्डाहरुलाई शान्तिपूर्ण ढंगले मतदाताको बीचमा रहेर स्वस्थ प्रतिष्पर्धा गर्नुपर्नेमा उनले जोड दिए ।










