छिमेकी क्षेत्रमा सागर ढकालको दौडधुप, खर्चमा देखाए नयाँ नजिर

गुल्मी । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिएसँगै गुल्मीमा राजनीतिक सरगर्मीले नयाँ उचाइ लिएको छ । यसै क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट गुल्मी क्षेत्र नम्बर १ का उम्मेदवार बनेका सागर ढकालको फरक शैली यतिबेला जिल्लामा चर्चाको विषय बनेको छ ।
आफ्नो निर्वाचन क्षेत्रमा प्रचारप्रसार केन्द्रित गर्नुपर्ने समयमा ढकाल छिमेकी निर्वाचन क्षेत्र नम्बर २ मा पुगेर घरदैलो अभियानमा व्यस्त देखिएका छन् । उनले क्षेत्र नम्बर २ का रास्वपा उम्मेदवार गोविन्द पन्थीलाई साथ दिँदै मतदाताको घरआँगनमा पुगेर मत मागिरहेका छन् । दुई उम्मेदवारबीचको यो संयुक्त प्रचार शैलीलाई धेरैले राजनीतिक सहकार्यको नयाँ अभ्यासका रूपमा लिएका छन् ।
गुल्मीको दुवै निर्वाचन क्षेत्रमा यसपटक पुराना स्थापित नेता र नयाँ उम्मेदवारबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । क्षेत्र नम्बर १ मा सागर ढकालले नेकपा एमालेका हस्ती प्रदीप ज्ञवाली, नेपाली कांग्रेसका डा. चन्द्र भण्डारी र नेकपाका सुदर्शन बराल जस्ता प्रभावशाली नेताहरूको सामना गर्दैछन् ।
त्यस्तै, क्षेत्र नम्बर २ मा गोविन्द पन्थीको प्रतिस्पर्धा एमालेका प्रभावशाली नेता गोकर्ण विष्ट, कांग्रेसका भुवनप्रसाद श्रेष्ठ र नेकपाका श्रीराम महतसँग हुनेछ । दशकौँदेखि गुल्मीको राजनीतिमा पकड जमाएका पुराना अनुहारलाई नयाँ उम्मेदवारले कत्तिको चुनौती दिने हुन् भन्ने विषयले सर्वसाधारणमा ठूलो चासो जगाएको छ ।
चुनावी तडकभडक र अत्यधिक खर्च गर्ने परम्परालाई चुनौती दिँदै ढकालले आफ्नो दैनिक खर्चको विवरण सार्वजनिक गर्न थालेका छन् । उनले हालै मालिका गाउँपालिकामा बास बस्दा चार जनाको टोलीले जम्मा २ हजार ६ सय २५ रुपैयाँ मात्र खर्च गरेको विवरण सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।










