अँध्यारो कोठाभित्र थुनिएको पीडाको कथा : नाटक ‘बहुरिया’ (तस्बिरहरू)

काठमाडौं । अँध्यारो कोठाको भित्तामा झुन्ड्याइएका कठपुतलीजस्तै देखिन्छन् ‘बहुरिया’ नाटकका दुई पात्रहरू । चुल्हो निभेपछि बाँकी रहने धुवाँजस्तो, शब्द नबोलिएको तर निसास्सिएको सम्बन्धको कथा नाटक ‘बहुरिया’ ले मञ्चमा उतारेको छ ।

मण्डला थिएटरको प्रस्तुति र बुद्धि तामाङको निर्माणमा बनेको नाटकले विवाहपछि महिलाले भोग्नुपर्ने मौन पीडा, घरभित्रकै अदृश्य विभाजन र सम्बन्धमा बढ्दै गएको अहंकारलाई प्रतीकात्मक शैलीमा प्रस्तुत गरेको छ । मधेसको लवज र परिवेशमा तयार पारिएको नाटकमा पीडा लुकाएर बस्न बाध्य महिला र शब्द लुकाएर हिँड्ने पुरुषबीच उभिएको अहंकार अनि त्यसले दुईजनाबीच बढाएको सम्बन्धको दूरीमा केन्द्रित रहेको छ ।

नाटकमा बुहारी भएर घर भित्रिएकी महिला पत्नीका रूपमा बाँधिए पनि न त घरकी हुन्छिन्, न त पूर्ण रूपमा आफ्नै पतिसँगको सम्बन्धमा । बाहिर हाँसोको मुखौटा लगाएकी उनको बगिरहेको आँसु र हराएको हाँसोको दृश्यले दर्शकलाई गहिरो रूपमा छुन्छ ।

सुरज यादवको लेखन र निर्देशनमा तयार पारिएको नाटकले आवाज उठाउँदा ‘घर भत्किने’ र सामाजिक दबाबमा चुप लाग्दा ‘आफैँ भत्किने’ द्वन्द्वबीच फसेकी महिलाको मनोविज्ञानलाई स्पष्ट रूपमा उजागर गरेको छ । ‘बहुरिया’ न प्रेमको साधारण कथा हो, न मात्र पारिवारिक द्वन्द्वको प्रस्तुति, यो त सम्बन्धभित्र लुकेका रङहरूको असन्तुलित कथा हो ।

सुरज यादव र प्रशंसा शिवाकोटीको बेजोड अभिनय रहेको नाटकले मूल रूपमा समाजमा अझै पनि महिलाको आवाज किन दबिन्छ भन्ने प्रश्न गहन रूपमा उठाएको छ । रङ्गकर्मी सरिता गिरीले रचनात्मक निर्देशन गरेको यो नाटक माघ ८ गतेदेखि २९ गतेसम्म सोमबारबाहेक हरेक साँझ ५ बजे मण्डला थिएटर थापागाउँमा मञ्चन हुनेछ । शनिबार भने दिउँसो १ बजे अतिरिक्त शो पनि मञ्चन हुनेछ ।

तस्बिरहरू :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − four =