नेदरल्यान्ड्सविरुद्ध पहिले बलिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट अन्तर्गत आज भइरहेको आफ्नो दोस्रो खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी नेदरल्यान्ड्सको सामना गरिरहेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेदरल्यान्ड्सकी कप्तान बाबेट डे लिडले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले फिल्डिङको निम्तो पाएको हो ।

प्रतियोगितामा सुखद सुरुवात गर्न नसकेको नेपालका लागि आजको खेल निकै महत्वपूर्ण मानिएको छ । पहिलो खेलमा थाइल्यान्डसँग हार बेहोरेको नेपाली टोली आज घरेलु मैदान र समर्थकको साथको फाइदा उठाउँदै पहिलो जितको खोजीमा छ । अर्कोतर्फ, भ्रमणकारी टोली नेदरल्यान्ड्स भने उच्च मनोबलका साथ मैदान उत्रिएको छ । उसले यसअघि नै जिम्बाबे र स्कटल्यान्ड जस्ता टोलीलाई पराजित गरेर आफ्नो बलियो उपस्थिति प्रमाणित गरिसकेको छ ।

नेपाली टोलीले आजको खेलमा कुनै फेरबदल नगरी पुरानै सेटलाई निरन्तरता दिएको छ । थाइल्यान्डविरुद्ध खेलेका ११ खेलाडीलाई नै प्रशिक्षक र कप्तानले डच टोलीविरुद्ध पनि विश्वास गरेका छन् । कप्तान इन्दु बर्माको नेतृत्वमा रहेको नेपाली टोलीमा अनुभवी र युवा खेलाडीहरूको सन्तुलन देखिएको छ ।

नेपाली प्लेइङ ११:
इन्दु बर्मा (कप्तान), सीता राना मगर, रुबिना क्षेत्री, पूजा महतो, सम्झना खड्का, बिन्दु रावल, कविता कुँवर, रिया शर्मा, सोमु विष्ट, काजल श्रेष्ठ (विकेटकिपर) र कविता जोशी ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − sixteen =