विश्वकप महिला टी-२० छनोट : उच्च वरियताको नेदरल्यान्ड्सविरुद्ध मैदान उत्रिँदै नेपाल

काठमाडौं । काठमाडौंमा जारी आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत आज घरेलु टोली नेपालले बलियो प्रतिद्वन्द्वी नेदरल्यान्ड्सको सामना गर्दैछ । समूह ‘बी’ मा रहेको नेपाल र नेदरल्यान्ड्सबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ ।

प्रतियोगिताको अघिल्लो चरण प्रवेश गर्ने सम्भावना कायमै राख्न नेपालका लागि आजको खेल निकै निर्णायक मानिएको छ । पहिलो खेलमा थाइल्यान्डसँग पराजित भएको नेपाललाई सेमिफाइनलको दौडमा रहन बाँकी तीन खेलमध्ये कम्तीमा दुई खेल जित्नुपर्ने दबाब छ । अर्कातर्फ, लगातार दुई खेल (जिम्बाबे र स्कटल्यान्ड) जितेर उच्च मनोबलमा रहेको नेदरल्यान्ड्स आजको खेलमा जित निकाल्दै अर्को चरणमा स्थान सुरक्षित गर्ने दाउमा छ ।

तथ्यांक र वरियताका आधारमा नेपाली टोलीभन्दा नेदरल्यान्ड्स केही बलियो देखिन्छ । आईसीसीको पछिल्लो महिला टी-२०आई वरियतामा नेदरल्यान्ड्स १४औं स्थानमा छ भने नेपाल २१औं स्थानमा रहेको छ । यी दुई टोलीबीच हालसम्म भएका तीन भेटमा नेपालले सफलता हात पार्न सकेको छैन । डच टोलीविरुद्ध ऐतिहासिक जित निकाल्दै घरेलु मैदानको फाइदा उठाउने रणनीतिका साथ कप्तान इन्दु बर्माको नेतृत्वमा नेपाली टोली मैदान उत्रनेछ ।

नेपाली टोली : इन्दु बर्मा (कप्तान), पूजा महतो, सम्झना खड्का, बिन्दु रावल, रुबिना क्षेत्री, कविता कुँवर, रिया शर्मा, सोमु विष्ट, सीता राना मगर, काजल श्रेष्ठ, कविता जोशी, रोमा थापा, मनीषा उपाध्याय, रचना चौधरी र राजमती ऐरी ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =