मनोनयन दर्ताका लागि दमक पुगे बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वमेयर एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) ले झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार दमकस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले आफ्नो मनोनयन दर्ता गराएका हुन् ।
बालेनको उम्मेदवारी दर्ताका क्रममा दमकमा समर्थकको बाक्लो उपस्थिति देखिएको थियो । सयौँको संख्यामा रहेका समर्थकहरूले विभिन्न जातजातिका झाँकी, सांस्कृतिक बाजागाजा र उत्साहजनक नाराबाजीसहित उनलाई निर्वाचन कार्यालयसम्म पुर्याएका थिए ।
रास्वपाले भावी प्रधानमन्त्रीको रूपमा अघि सारेका बालेन र नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीचको प्रतिस्पर्धाले झापा-५ को चुनावी राजनीतिलाई देशकै केन्द्रविन्दुमा ल्याइदिएको छ । एमालेको ‘गढ’ मानिने यस क्षेत्रमा बालेनको इन्ट्रीले चुनावी अंकगणितलाई रोचक र चुनौतीपूर्ण बनाइदिएको विश्लेषण गरिएको छ ।








