मन्त्री पद त्यागेका खरेल रास्वपामा, ललितपुर-२ बाट चुनाव लड्ने

काठमाडौं । सञ्चारमन्त्रीबाट राजीनामा दिएका जगदीश खरेल चुनावी प्रतिस्पर्धामा होमिने भएका छन् । सोमबार नै पदत्याग गरेका खरेल मंगलबार बिहान ११ बजे एक विशेष कार्यक्रमकाबीच औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने भएका हुन् ।
रास्वपा नेता गणेश पराजुलीका अनुसार खरेललाई पार्टीमा स्वागत गर्न र उनको उम्मेदवारीबारे जानकारी दिन आज कार्यक्रम तय गरिएको छ । खरेल आगामी प्रतिनिधिसभा निर्वाचनमा ललितपुर क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने पक्का भएको छ । यसअघि निर्वाचनमा उठ्ने विषयमा मौन रहँदै आएका उनले मनोनयन दर्ताको अघिल्लो दिन मात्रै मन्त्री पदबाट बाहिरिने निर्णय गरेका हुन् ।
गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनपछि मुलुकमा निर्वाचन गराउने मुख्य जिम्मेवारीसहित गठन भएको वर्तमान सरकारका मन्त्रीहरू धमाधम राजीनामा दिँदै चुनावी मैदानमा उत्रिन थालेका छन् । यसै क्रममा मंगलबार मात्रै शिक्षामन्त्री महावीर पुनले पनि आफ्नो पदबाट राजीनामा दिएका छन् ।









