रास्वपा तेह्रथुम कार्यसमितिले दियो सामूहिक राजीनामा

काठमाडौं । आसन्न निर्वाचनका लागि उम्मेदवार चयनको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तेह्रथुममा तीव्र असन्तुष्टि चुलिएको छ । केन्द्रले जिल्लाको सिफारिस र स्थानीय जनभावना विपरित उम्मेदवार थोपरेको आरोप लगाउँदै जिल्ला सभापतिसहित सिंगो कार्यसमितिले नै सामूहिक राजीनामाको घोषणा गरेको हो ।
जिल्ला सभापति सुमन खत्रीको नेतृत्वमा म्याङलुङ र आठराई गाउँपालिका सहित लालीगुराँस, छथर र फेदाप गाउँपालिकाका वडा तथा पालिका कमिटीका पदाधिकारी एवं सदस्यहरूले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । रास्वपा केन्द्रले सोमबार तेह्रथुमका लागि ऋतुराज लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर, जिल्ला समितिले भने ‘अवेर तेह्रथुम’का संयोजक सुरेन्द्र कार्कीलाई सर्वसम्मत उम्मेदवारका रूपमा अघि सार्ने तयारी गरेको थियो । स्थानीय ‘जेनजी’ र अन्य नवोदित दलहरूको समेत साझा समर्थन कार्कीलाई रहेको दाबी जिल्ला नेतृत्वको थियो ।
राजीनामा दिने असन्तुष्ट पक्षले केन्द्रबाट एकलौटी निर्णय भएको आरोप लगाएका छन् । सामूहिक राजीनामा पत्रमा भनिएको छ, ‘भदौ २३ र २४ को ‘जेनजी जनआन्दोलन’ को जगमा टेकेर युवा तथा सक्षम उम्मेदवारका रूपमा सुरेन्द्र कार्कीलाई घण्टी चुनाव चिह्नबाट उठाउने व्यापक राजनीतिक सहमति भएको थियो । तर, पार्टीको विधान र विधि मिचेर केन्द्रले अर्कै व्यक्तिलाई टिकट थमाएपछि जिल्लाको राजनीतिक सहमतिमा कुठाराघात भएको छ ।’
उम्मेदवार छनोट प्रक्रियामा पार्टीको विधि मिचिएको र जिल्ला तथा प्रदेश समितिको भावनामा ठेस पुगेको उनीहरूको निष्कर्ष छ । केन्द्र र प्रदेशसँगको सहकार्यमा गरिएको बाचा पूरा गर्न नसकेको नैतिक जिम्मेवारी लिँदै जिल्ला, पालिका र वडाका सम्पूर्ण समितिले राजीनामा दिएको विज्ञप्तिमा उल्लेख छ ।










