नवीनाको प्रश्न- कार्यकर्ताको मनोबल गिराएर कसरी जितिन्छ ?

काठमाडौं । नेकपा (एमाले) की युवा नेतृ नवीना लामाले पार्टीको पछिल्लो उम्मेदवार चयन प्रक्रियाप्रति सांकेतिक असन्तुष्टि व्यक्त गरेकी छन् । आसन्न निर्वाचनका लागि पार्टीले टिकट वितरण गर्दा अनुभवी, निष्ठावान् र लामो समय योगदान दिएका नेताहरूलाई पाखा लगाइएको भन्दै उनले यसले कार्यकर्ताको मनोबलमा नकारात्मक असर पुग्ने बताएकी हुन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पूर्वसांसद समेत रहेकी लामाले पार्टीभित्र दुःख र मेहेनत गरेका ‘सिनियर’ एवं जित्ने सम्भावना भएका उम्मेदवारहरू अवसरबाट वञ्चित हुनुलाई ‘दुःखद’ संज्ञा दिएकी छन् । उनले भनिन्, ‘पार्टीभित्र केही सिनियर, लामो योगदान र मेहनत गरेका उम्मेदवारहरू नहुनु दुःखद कुरा हो । यस्ता निर्णयले भुइँतहका कार्यकर्ताको उत्साह र मनोबलमा चोट पुऱ्याउँछ ।’

आफू पनि काभ्रे-१ बाट उम्मेदवारका लागि सिफारिसमा परेर पनि केन्द्रीय सचिवालयको अन्तिम निर्णयमा नपरेको प्रसङ्ग उल्लेख गर्दै उनले व्यक्तिगत पदभन्दा पार्टीको हित ठुलो भएको बताइन् । पार्टीमा आफ्नो ३० वर्ष लामो यात्रा र १२ वर्षको सक्रिय ऊर्जा लगानी भएको स्मरण गर्दै उनले भनिन्, ‘मैले गरेको संघर्ष र इमानदारी कहिल्यै व्यर्थ जानेछैन । टिकट नपाउँदैमा मेरो प्रतिबद्धता कमजोर भएको छैन ।’

अहिलेको मुख्य चुनौती पार्टीलाई जिताउनु नै रहेको उल्लेख गर्दै उनले रिस-राग त्यागेर एकढिक्का भएर अगाडि बढ्न कार्यकर्तालाई आग्रह गरेकी छन् । एमालेलाई बलियो शक्ति बनाउने आफ्नो अडान कायमै रहेको र पार्टीलाई विजयी गराउन आफू निरन्तर खट्ने उनले प्रतिबद्धता व्यक्त गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =