मनोनयन दर्ताका लागि झापा जाँदै एमाले अध्यक्ष ओली

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सरगर्मीसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज आफ्नो निर्वाचन क्षेत्र झापा प्रस्थान गर्दैछन् । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी मनोनयन दर्ता गर्ने प्रयोजनका लागि ओली बिहान १०:२५ को विमानमार्फत भद्रपुर ओर्लने कार्यक्रम रहेको छ ।

यसपटकको निर्वाचनमा झापा क्षेत्र नम्बर ५ राष्ट्रिय राजनीतिकै सर्वाधिक चर्चा र चासोको केन्द्र बनेको छ । एमाले अध्यक्ष ओलीको ‘गढ’ मानिने यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले पनि उम्मेदवारी दिने तयारी गरेपछि यहाँको प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ । त्यसैगरी, नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट रञ्जित तामाङ पनि चुनावी मैदानमा उत्रने भएपछि झापा-५ मा त्रिपक्षीय भिडन्त हुने निश्चितप्रायः छ ।

झापा पुगेलगत्तै अध्यक्ष ओलीले जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रको तयारीबारे विशेष चासो लिने बुझिएको छ । उनले भद्रपुरमा ओर्लनासाथ क्षेत्र नम्बर १ र ३ का नेता-कार्यकर्तासँग भेटघाट गरी चुनावी वस्तुस्थितिबारे ब्रिफिङ लिनेछन् । त्यसलगत्तै बिर्तामोड पुगेर क्षेत्र नम्बर २ र सुरुङ्गामा क्षेत्र नम्बर ४ को चुनावी कमान्ड सम्हालिरहेका नेताहरूसँग छलफल गर्ने तालिका तय भएको छ ।

अध्यक्ष ओलीले आफ्नै निर्वाचन क्षेत्र (झापा-५) को रणनीतिक तयारीबारे भने दमकमा स्थानीय नेताहरूसँग विस्तृत विमर्श गर्नेछन् । सोही क्रममा उनले दमकस्थित आफ्नै निवासको समेत अवलोकन गर्ने कार्यक्रम छ । गत भदौमा भएको ‘जेनजी आन्दोलन’ का क्रममा तोडफोड र आगजनीबाट प्रभावित भएको सो निवासमा ओली लामो समयपछि पुग्न लागेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − five =