महिला विश्वकप छनोटमा नेपालको खराब सुरुवात, थाइल्यान्डसँग ८ विकेटले पराजित

काठमाडौं । आगामी जुन-जुलाईमा इङ्ल्यान्ड र वेल्समा आयोजना हुने महिला टी-२० विश्वकपका लागि जारी ग्लोबल छनोटमा नेपालले खराब सुरुवात गरेको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा नेपाल चिरपरिचित प्रतिद्वन्द्वी थाइल्यान्डसँग ८ विकेटले पराजित भएको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२२ रनको योगफल तयार पारेको थियो । १२३ रनको सामान्य लक्ष्य पछ्याएको थाइल्यान्डले मात्र २ विकेट गुमाउँदै १६.५ ओभरमा लक्ष्य भेट्टायो ।

नेपालका लागि ओपनर सम्झना खड्का र विन्दु रावलले विष्फोटक सुरुवात दिलाएका थिए । यी दुईले ६ ओभरभित्रै ५४ रन जोडेपछि नेपालले विशाल स्कोर बनाउने अपेक्षा गरिएको थियो । ११ बलमा ६ चौकासहित २६ रन बनाएर सम्झना आउट भएपछि नेपालको इनिङ्स धर्मराउन पुग्यो ।

मध्यक्रमका भरपर्दा ब्याटरहरू सस्तोमै समेटिएपछि नेपालले राम्रो सुरुवातको फाइदा उठाउन सकेन । विन्दु रावलले संयमित ब्याटिङ गर्दै ५६ बलमा ४४ रनको योगदान दिइन्, जुन उनको अन्तर्राष्ट्रिय करियरकै उच्च स्कोर हो ।

यसअघि सन् २०१९ मा कुवेतविरुद्ध उनले २८ रन बनाएकी थिइन् । अन्य ब्याटरमा पूर्व कप्तान रुविना क्षेत्रीले १७ र उपकप्तान पुजा महतोले १२ रन बनाउनुबाहेक कसैले पनि दोहोरो अंक छुन सकेनन् । कप्तान इन्दु बर्मा ६ रनमा पभेलियन फर्किँदा सीता रानामगर शून्यमै आउट भइन् ।

थाइल्यान्डकी बलर थिपात्चा पुथावोङले घातक बलिङ गर्दै ४ विकेट लिइन् भने ओनिचा कामचोम्फुले २ विकेट हात पारिन् । नेपालले दिएको १२३ रनको लक्ष्य थाइल्यान्डका लागि चुनौतीपूर्ण रहेन । थाइल्यान्डको जितमा प्रारम्भिक ब्याटर नात्थीकन चान्थम नायक बनिन् । उनले ३९ बलमा १ छक्का र ९ चौकाको मद्दतले अविजित ५७ रनको अर्धशतकीय पारी खेलिन् । त्यस्तै नानपत कोचारियोङकाईले ३२ र अफिसरा शुवानचोनराथीले २८ रन जोड्दै टोलीको जित सुनिश्चित गरे । नेपालका लागि दुवै विकेट सीता रानामगरले लिइन् ।

हारसँगै थाइल्यान्डविरुद्ध नेपालको खराब लयले निरन्तरता पाएको छ । सन् २०११ यता नेपालले थाइल्यान्डलाई पराजित गर्न सकेको छैन । गत वर्षका तीन भेटमा पनि नेपाल थाइल्यान्डसँग पराजित भएको थियो ।

ग्लोबल छनोटको समूह ‘बी’ मा रहेको नेपालले अब आफ्नो दोस्रो खेल जनवरी २२ मा नेदरल्यान्ड्ससँग खेल्नेछ । त्यसपछि जनवरी २४ मा जिम्बावे र २६ मा स्कटल्यान्डको सामना गर्ने तालिका छ । जिम्बावे र स्कटल्यान्डसँग नेपालले पहिलो पटक खेल्न लागेको हो ।

प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । दुवै समूहका शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् भने सुपर सिक्सका शीर्ष चार टोलीले सिधै विश्वकपको टिकट काट्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − twelve =