अब अन्धकार हटेर उज्यालो युगको आरम्भ हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माघी तथा माघे सङ्क्रान्तिले नेपाली समाजमा आपसी सद्भाव र भाइचारालाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन् ।
बिहीबार माघी तथा मकर सङ्क्रान्तिको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषता नै राष्ट्रको सच्चा सम्पत्ति भएको उल्लेख गरे । थारु समुदायले नयाँ वर्षका रूपमा मनाउने माघी तथा मगर, छन्त्याल लगायत अन्य समुदायले मनाउने मकर सङ्क्रान्तिको अवसरमा प्रचण्डले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।
संयोजक प्रचण्डले आफ्नो सन्देशमा प्रकृति र संस्कृतिको सम्बन्धलाई केलाउँदै उत्तरायणको आरम्भसँगै जसरी दिन लम्बिँदै र उज्यालो बढ्दै जान्छ, त्यसरी नै राष्ट्रिय जीवनबाट पनि निराशा र अन्धकार हटेर समृद्धिको नयाँ युग सुरु हुने विश्वास व्यक्त गरेका छन् ।
चाडपर्वको सांस्कृतिक पक्षबारे चर्चा गर्दै उनले परिवारजनसँग बसेर घिउ, चाकु, तरकारी र खिचडी खाइने यो पर्वले पारिवारिक मिलन र सामाजिक एकतालाई बलियो बनाउने बताए । साथै, उनले सन्देशमार्फत राजनीतिक उपलब्धिको रक्षा र संविधानको पूर्ण कार्यान्वयनमा सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका छन् । सुशासन र समृद्ध नेपाल निर्माणको राष्ट्रिय अभिभारा पूरा गर्न यो पर्वले सबैलाई प्रेरणा दिने उनको भनाइ छ ।









