सभापति-महामन्त्रीद्वय वार्ता चलिरहेकै बेला धमाधम मनोनयन दर्ता (तस्बिरहरू)

काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन अन्तर्गत उम्मेदवारको मनोनयन पत्र दर्ता सुरु भएको छ । सभापति शेरबहादुर देउवा निवास महाराजगन्जमा सभापति महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच वार्ता चलिरहँदा महाधिवेशनस्थल भृकुटीमण्डपमा धमाधम मनोनयन पत्र दर्ता सुरु भएको हो ।
पार्टीभित्रको संवादहीनता तोड्दै सभापति र महामन्त्रीद्वय छलफलमा जुटेका छन् । विशेष महाधिवेशन पक्षले अघि सारेका मागहरू र निर्वाचन प्रक्रिया अघि बढिरहेको जटिल परिस्थितिमा मध्यमार्गी बाटो खोज्न सभापति देउवा आफैँ अग्रसर भएका हुन् ।
यसअघि सोमबार प्रचार विभाग प्रमुख मीन विश्वकर्मासहितका नेताहरूले सभापतिलाई भेटेर महामन्त्रीहरूसँग प्रत्यक्ष वार्ता गर्न सुझाएका थिए । सुरुमा संशय व्यक्त गरे पनि पार्टी विभाजन वा गहिरो संकट आउन सक्ने आकलन गर्दै देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का महामन्त्रीहरूसँग लचक हुन तयार भएका हुन् । आजको यो भेटले कांग्रेसको आधिकारिक धार र असन्तुष्ट पक्षबीचको दूरी घटाउने वा नघटाउने भन्ने तय गर्नेछ ।
शीर्ष नेताहरू बूढानीलकण्ठमा वार्तामा व्यस्त रहँदा यता भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको चुनावी प्रक्रिया भने धमाधम अघि बढेको छ । निर्वाचन समितिले तय गरेको तालिकाअनुसार उम्मेदवारको मनोनयन पत्र दर्ता सुरु भइसकेको छ ।
निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीका अनुसार उम्मेदवारी दर्ताका लागि बिहानसम्मको समय सीमा तोकिएको छ । पार्टीको पुरानै विधानअनुसार हुन लागेको यो निर्वाचनमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र १२१ सदस्य पदका लागि मतदान हुने कार्यतालिका छ । १४औँ महाधिवेशनका कूल ४ हजार ७४३ मतदातामध्ये हाल कायम रहेका ४ हजार ६३५ महाधिवेशन प्रतिनिधिले यस प्रक्रियामा भाग लिनेछन् ।










