देशमा उत्पन्न असाधारण परिस्थितिको सामना गर्न राष्ट्रिय एकता आवश्यक : अध्यक्ष दाहाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले देश असाधारण परिस्थितिबाट गुज्रिरहेको भन्दै परम्परागत राजनीतिक संस्कारले मात्रै मुलुकमा उत्पन्न चुनौतीको सामना गर्न नसकिने बताएका छन् ।
मंगलवार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडा आयोजित पार्टी केन्द्रिय सदस्यहरूको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नयाँ विचार, नयाँ कार्यक्रम र नयाँ पहलकदमीमार्फत मात्रै वर्तमान राजनीतिक संकटको सामना गर्न सकिने उनको भनाइ छ ।
उनले सबै राजनीतिक दलहरूले विगतका कमजोरीबारे आत्मसमीक्षा गर्न आवश्यक रहेको उल्लेख गरे । उनले नेकपाले विगतमा आफ्नो तर्फबाट भएका कमजोरीको समीक्षा गरी अब ती कमजोरी सच्याउँदै रूपान्तरणको मार्गमा अघि बढ्ने संकल्प लिइसकेको पनि दाबी गरे ।
उनले मुलुकले सामना गरिरहेको परिस्थितिमा राष्ट्रिय एकता सुदृढ गर्ने र राष्ट्रिय स्वाधीनतालाई मजबुत बनाउने उद्देश्यसहित पार्टी एकता प्रक्रियालाई अगाडि बढाइएको दोहोर्याए ।
उनले मुलुकमा उत्पन्न चुनौतीको सामना गर्न राष्ट्रिय एकताको खाँचो रहेको उल्लेख गर्दै नेकपा सोहीअनुरूप अघि बढ्ने बताए ।
उनले भने, ‘सबै राजनीतिक दलहरूले आत्मसमिक्षा गरेर विगतमा के कमजोरी भए भन्ने कुराको मूल्यांकन गर्न जरुरी छ । हामी त्यो निष्कर्षमा पुग्यौँ र हाम्रो भागमा परेको कमजोरीको समिक्षा पनि गर्यौं । हामी संकल्प लियौँ कि ती कमीहरू अब सच्याउनुपर्छ र रूपान्तरित हुनुपर्छ भन्ने निष्कर्ष निकाल्यौँ । यो असाधारण परिस्थितिको सामना नयाँ विचार, नयाँ कार्यक्रम र नयाँ पहलकदमीद्वारा मात्रै लिन सकिन्छ । परम्परागत ढंगले चल्ते चलाते ढंगले मात्रै मुलुकमा उत्पन्न परिस्थितिको सामना गर्न सकिँदैन । राष्ट्र जुन असाधारण अवस्थाबाट गुज्रेको छ यो समयमा राष्ट्रलाई थप एकताबद्ध गर्ने, एकता सुदृढ गर्ने र राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्नको लागि नितान्त नयाँ संकल्पसहित पहलकदमी लिन जरुरी छ भन्ने निष्कर्षका साथ हामीले पार्टीले पार्टी एकता प्रक्रियालाई लियौँ ।’
उनले मुलुकमा उत्पन्न राजनीतिक तथा सामाजिक संकटको सामना गर्नकै लागि २० भन्दा बढी कम्युनिष्ट घटकहरूलाई एक ठाउँमा ल्याइएको जिकिर गरे ।









