कांग्रेसले पुस २७ गते पार्टीको केन्द्रीय, प्रदेश र जिल्ला कार्यालय बन्द गर्ने

काठमाडौं । नेपाली कांग्रेसले वरिष्ठ पत्रकार एवं पूर्वमन्त्री होमनाथ दाहालको निधनमा शोक प्रस्ताव पारित गरेको छ । शनिबार बिहान बसेको केन्द्रीय समितिको बैठकले दाहालको निधनमा शोक प्रस्ताव पारित गरेको हो ।
दाहाल २०५६ को आम निर्वाचनमा ओखलढुंगा निर्वाचन क्षेत्र नम्बर एकबाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका थिए । साथै उनले कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी समेत सम्हालेका थिए । दाहालले पार्टीका विभिन्न जिम्मेवारीमा रहेर नेपाली कांग्रेसको संगठन विस्तार र नेपालको लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बताए ।
पुस २६, २७ र २८ गतेसम्म पार्टीका केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयहरूमा पार्टीको झण्डा आधा झुकाउने र पुस २७ गते केन्द्र, प्रदेश तथा जिल्लाका सबै कार्यालय बन्द गर्ने निर्णय भएको उनले बताए । कार्यवाहक सभापति खड्काका अनुसार पार्टीले स्वर्गारोहणको १३ दिनसम्म केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने र १३ औं दिनमा ओखलढुंगामा शोक सभाको आयोजना गर्ने प्रस्ताव प्रस्तुत गरे । प्रस्तावलाई केन्द्रीय समितिले सर्वसम्मत पारित गरेको छ ।
दाहालको शनिबार बिहान निधन भएको हो ।










