एकानको अध्यक्षमा किशोर तिवारी सर्वसम्मत चयन

काठमाडौं । नेपालको शैक्षिक परामर्श व्यवसायीहरूको साझा संस्था ‘सक्रिय शैक्षिक परामर्श संघ, नेपाल’ (एकान)को नेतृत्व किशोर तिवारीले सम्हाल्ने भएका छन् । राजधानीमा सम्पन्न संस्थाको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले तिवारीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

नवनिर्वाचित कार्यसमितिले संस्थाको साङ्गठनिक सुदृढीकरण र व्यवसायीहरूको हकहितमा केन्द्रित रहने प्रतिबद्धता व्यक्त गरेको छ । अधिवेशनबाट उपाध्यक्षको जिम्मेवारी मेघराज शाही र रमेश पाठकले पाएका छन् । त्यस्तै, संस्थाको कार्यकारी भूमिका मानिने महासचिव पदमा दामोदर फुयाल (प्रज्वल) सर्वसम्मत चयन भएका छन् ।

कार्यसमितिको अन्य पदाधिकारीतर्फ सचिवमा मनीष कुमार वर्देवा, कोषाध्यक्षमा मुकेश खतिवडा र सहकोषाध्यक्षमा हीरानाथ महर्जन निर्वाचित भएका छन् । नयाँ कार्यसमितिमा अनुभवी र जोसिला युवा व्यवसायीहरूको सन्तुलित उपस्थिति रहेको छ । कार्यसमिति सदस्यहरूमा सुजान लामिछाने, गंगाराम बस्नेत, प्रेम प्रसाद शर्मा पौड्याल, सुमन थापा, राधिका शाही, प्रमिला पूरी, कृष्णहरि सापकोटा, राज कुमार महार्जन, सुवास थापा र विष्णु अधिकारी चयन भएका छन् ।

पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष तिवारीले एकानलाई थप व्यावसायिक र मर्यादित बनाउने उद्घोष गरेका छन् । उनले भने, ‘हाम्रो मुख्य ध्येय विद्यार्थी र अभिभावकलाई सही सूचना दिनु र परामर्श क्षेत्रका विकृतिलाई अन्त्य गर्दै सदस्य व्यवसायीहरूको मनोबल उच्च राख्नु हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 12 =