अछामको विकासमा योगदान दिन चाहन्छु : ज्वाला संग्रौला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य ज्वाला संग्रौला (टीका) ले अछाम जिल्लाबाट नागरिकताको प्रतिलिपि लिएको र ‘पिछडिएको क्षेत्र’ बाट समानुपातिक उम्मेदवार बनेको विषयमा उत्पन्न विवादको प्रतिवाद गरेकी छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले यसलाई नेपाली महिलाले संविधानतः पाएको अधिकार भएको बताएकी छन् ।

पूर्वी नेपालको पाँचथरमा जन्मिएर झापामा हुर्किएकी संग्रौलाले अछामको मंगलसेन नगरपालिका-५ का हिमाल उपाध्यायसँग विवाह गरेकी थिइन् । विवाहपश्चात् अछाम नै आफ्नो आधिकारिक स्थायी वासस्थान भएको उल्लेख गर्दै उनले भनिन्, ‘नागरिकतामा स्थानीय ठेगाना अछाम नै लेखिन्छ । यो हामी महिलाहरूलाई नेपालको संविधानले दिएको अधिकार हो । यति सामान्य कुरा पनि नबुझी फेसबुकभरि मेरो नागरिकता बोकेर हिँड्नेहरूप्रति मेरो भन्नु केही छैन ।’

यसअघि उनले झापा क्षेत्र नं. ५ बाट नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग प्रत्यक्ष चुनाव लड्ने मनसाय बनाएकी थिइन् । तर, पार्टीका नेता र परिवारको सुझावपछि उनले पिछडिएको क्षेत्रको प्रतिनिधित्व गर्दै समानुपातिक सूचीमा बस्ने निर्णय लिएको बताएकी छन् । आफू ४१ दिनको सुत्केरी हुँदा समेत अछामका दुर्गम भेग पुगेर त्यहाँको जनजीवन नियालेको दाबी गर्दै उनले भनिन्, ‘मैले अछामको तर्फबाट पिछडिएको क्षेत्रबाट दाबी नगरेको भए उम्मेदवार अन्य जिल्लाले पाउँथ्यो । वर्षौंदेखि विकासको गतिमा पछि पारिएको क्षेत्रको लागि म आफ्नो ज्यानले सकेसम्म योगदान दिन चाहन्छु ।’

आफूमाथि भइरहेको नकारात्मक प्रचार र ‘चरित्र हत्या’ को प्रयासप्रति संकेत गर्दै उनले सत्यको पक्षमा उभिने एकजना मात्र भए पनि आफू लडिरहने उद्घोष गरेकी छन् । सभापति रवि लामिछानेको भनाइलाई उद्धृत गर्दै उनले लेखेकी छन्, ‘जति विरोध भए पनि सत्यको पक्षमा उभिने कोही साथ रहेसम्म लड्छु । गलत गर्दिन र भ्रम छर्नेहरूसँग डराउँदिन ।’

आफूलाई बदनाम गराउन फोटो एडिट गर्ने र समाजमा भ्रम छर्ने समूह सक्रिय भए पनि ९५ प्रतिशत समाज सत्यको पक्षमा रहेको दाबी गर्दै उनले आफ्नो राजनीतिक यात्रा अविचलित रहने प्रष्ट पारेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 3 =