उपत्यकामा आज थप चिसो बढ्ने, ३ डिग्रीमा झर्यो तापक्रम

काठमाडौं । काठमाडौँ उपत्यकामा चिसो ह्वात्तै बढेको छ । शुक्रबार बिहानको पहिलो प्रहरमै काठमाडौँको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ ।
मौसम पूर्वानुमान महाशाखाले बिहान ५:४५ बजे गरेको सुरुवाती मापन (इनिसियल रेकर्ड) मा तापक्रम ३.० डिग्री सेल्सियस देखिएको हो । यो बिहानीपखको प्रारम्भिक तथ्याङ्क मात्र हो । महाशाखाका अनुसार बिहान ८:४५ बजे लिइने आधिकारिक मापनमा तापक्रम योभन्दा अझ तल झर्ने सम्भावना प्रबल देखिएको छ ।
विगत केही दिनदेखि उपत्यकाको तापक्रम स्थिरजस्तै देखिए पनि चिसोको महसुस बढी भइरहेको छ । गत मंगलबारदेखि बिहीबारसम्म लगातार न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस कायम थियो । हिजो (बिहीबार) ५:४५ बजेको सुरुवाती मापनमा ३.३ डिग्री सेल्सियस देखिएकोमा पछि घटेर ३ डिग्री पुगेको थियो । तर, आज सुरुवाती चरणमै ३ डिग्री देखिएकाले आधिकारिक मापन हुँदा यस वर्षकै कम तापक्रम रेकर्ड हुन सक्ने अनुमान मौसमविद्हरूले गरेका छन् ।
उता, देशकै सबैभन्दा चिसो मानिने जुम्लामा बिहीबार न्यूनतम तापक्रम माइनस ८.१ डिग्री सेल्सियस रेकर्ड भएको थियो ।









