कानूनमन्त्रीको आग्रह- एउटा कानुन बनाउन ५ वर्ष लगाउनेलाई भोट नदिनुस्

काठमाडौँ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले आगामी निर्वाचनमा एउटा कानुन बनाउन पाँच वर्ष लगाउनेहरूलाई भोट नदिन आग्रह गरेका छन् ।

राष्ट्रिय मानवअधिकार आयोगले बिहीबार आयोजना गरेको कार्यक्रममा उनले यस्तो आग्रह गरेका हुन् ।

उनले जनताप्रति उत्तरदायी र जिम्मेवारी भएका जनप्रतिनिधि चुन्न आग्रह गरे । जेन–जी आन्दोलनले योग्य जनप्रतिनिधि छान्ने मौका दिएको उनको भनाई छ । उनले हाल एउटा कानुन बनाउन ५ वर्ष र प्रत्यायोजित विधायन बनाउन अर्को ५ वर्ष लगाउने जनप्रतिनिधि हुँदा समस्या भएको बताए ।

उनले फागुन २१ गते निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको पनि उल्लेख गरे । उनले फेरि पनि पाँच जना व्यक्तिको ईसारामा कानुन बनाउनेलाई भोट दिएमा अर्को १० वर्षमा पनि देश यही स्थितिमा रहने बताए ।

उनले भने ‘यो एउटा कानुन बनाउन ३ वर्षको ठाउँमा ५ वर्ष लगाउने हाम्रा प्रकृतिका हाम्रा जनप्रतिनिधि, त्यसको प्रत्यायोजित विधायन बनाउनको निम्ति अर्को ५ वर्ष लगाउने जनप्रतिनिधिहरू, यस्ता प्रतिनिधिहरूलाई तपाई फेरि भोट खसाल्न जानुहुन्छ भने तपाईँहरूको हात काम्नुपर्छ । चुनावमा अब कमसेकम यो अवरनेश भएको र तपाईँहरूलाई डेलिभर गर्न सक्ने र जनतासँग पुग्नसक्ने जनप्रतिनिधिहरूलाई तपाईहरुले अब चुन्नुस्, यो मौका अब तपाईँहरूलाई आएको छ । जेनजी आन्दोलनले यो मौका दिएको छ । मैले तपाईँहरूलाई भने समयमा चुनाव गर्नुपर्छ, सरकार निर्वाचन गर्न प्रतिबद्ध छ । अबको समय भनेको ५ जनाले ताली बजाऊ भनेर भन्नासाथै ताली बजाएर कानुन पारित गर्ने व्यक्तिलाई चुनेर पठाउनुभयो भने १० वर्ष पछि हामीले कुरा गर्दाखेरि यही ठाउँमा फर्केर आइराखेका हुन्छौँ ।’

उनले आवश्यकताका आधारमा कानुन निर्माणमा प्राथमिकता दिनुपर्ने पनि बताए । उनले कानुन बनाउँदा बाझिने खालको कानुन बनाउन नहुनेमा पनि जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + thirteen =