गगन थापालाई बुद्धिजीवीहरूको सुझाव: काँग्रेसमा विधि-पद्धति स्थापित गर्न विशेष महाधिवेशनमा जानुस्

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापालाई बुद्धिजीवीहरूले पार्टीभित्र विधि र पद्धति स्थापित गर्न विशेष महाधिवेशनमा जान सुझाएका छन् ।
पार्टीको संस्थापन पक्षले विधि र पद्धतिबाहिर गएर असहमत पक्षलाई किनारामा पार्ने प्रयास गरेको भन्दै उनीहरूले त्यसको प्रतिवादस्वरूप विशेष महाधिवेशनमार्फत पार्टीको रूपान्तरणसहित पुस्तान्तरण गर्न सुझाएका हुन् ।
बुधवार पार्टी महामन्त्री गगनकुमार थापासहित विशेष महाधिवेशन पक्षधरले बुद्धिजीवीहरूसँग छलफल गरी विशेष महाधिवेशनबारे सुझाव लिएका हुन् ।
छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै बुद्धिजीवी सुदर्शन आचार्यले छलफलमा संस्थापन पक्षले पार्टी महामन्त्रीहरूलाई कारबाही गर्छ की ? भन्ने प्रश्न पनि उठेको उल्लेख गरे । उनले पार्टी विधान र मुलुकको संविधानअनुसार अघि बढ्दा महामन्त्रीहरूलाई कारबाही गर्ने आधार पार्टी केन्द्रसँग नरहेको कारण दृढतापूर्वक विशेष महाधिवेशनको पक्षमा अघि बढ्न सुझाएको बताए ।
उनले पार्टीको रूपान्तरण गरी मुलुकको राष्ट्रिय राजनीतिले सामना गरिरहेका चुनौतीहरूको सामना गर्न देशभरका महाधिवेशन प्रतिनिधिहरूलाई कन्भिन्स गर्न समेत सुझाव दिएको उल्लेख गरे ।
उनले भने ‘उहाँ (गगनकुमार थापा) लाई पार्टीभित्र विधित्र र पद्धति स्थापित गर्नको लागि जुन खालको विद्रोह गर्नुभयो त्यसले तपाईँहरूले सिङ्गो देशको राजनीति जित्नुभएको छ । पार्टीभित्र संस्थापन पक्षले विधि र पद्धतिभन्दा बाहिर गएर तपाईँहरूलाई किनारा लाउने प्रयत्न गरेको छ त्यसकारण विधि र पद्धतिका पक्षमा स्पष्ट अडान राखेर विशेष महाधिवेशनका पक्षबाट पार्टीलाई रूपान्तरणसहितको पुस्तान्तरण गर्नुपर्छ भन्ने सुझाव उहाँलाई रह्यो । संस्थापन पक्षले महामन्त्रीहरूलाई कारबाही गर्छ की भन्ने प्रश्न पनि त्यहाँ उठेका थिए । नेपाली काँग्रेसको विधानले दिएको व्यवस्था र मुलुकको संविधानले दिएको व्यवस्थालाई कार्यान्वयन गर्दैगर्दा कारबाही हुनुपर्ने मान्छेले नै कारबाही गर्यो भने उल्टो दिशामा जाने भएकोले तपाईँलाई कारबाही गर्ने ठाउँ छैन त्यसका तपाई दृढतापूर्वक विशेष महाधिवेशनको पक्षमा उभिन जरुरी छ । यसको लागि देशभरिका महाधिवेशन प्रतिनिधिहरूलाई पनि दबाब दिन जरुरी छ ।’
बुद्धिजीवी अरुण सुवेदीले विशेष महाधिवेशन पक्षधरहरू ‘पोइन्ट अफ नो रिटर्न’को अवस्थामा पुगिसकेको भन्दै पार्टीको बहुमत महाधिवेशन प्रतिनिधिको सहभागिता भए विशेष महाधिवेशन गर्न सुझाव दिएको बताए । उनले बहुसंख्यक प्रतिनिधि सहभागीमार्फत चुनिने नेतृत्वले मात्र वैधानिकता पाउने उल्लेख गर्दै अन्यथा कुनैपनि हालतमा पार्टी फुटाउन नहुने सुझाव आफूले दिएको जानकारी दिए ।
उनले भने ‘महामन्त्रीजीले सुझावका लागि डाँक्नुभएको थियो । अब पोइन्ट अफ नो रिटर्नको अवस्थामा पुगिसकेको अवस्थामा देख्छु । गणपुरक संख्या पुग्यो भने विशेष महाधिवेशन गर्नुहोला । त्यसले एउटा वैधानिक निकास लेला अन्यथा पार्टी चाहिँ फुट्नुहुँदैन भन्न सुझाव मैले दिएँ ।’
बुद्धिजीवी प्रताप पौडेलले नेपाली काँग्रेस नयाँ नेतृत्व, नीति र कार्यदिशासहित आसन्न निर्वाचनमा जानुपर्ने आवश्यकता आवश्यकता रहेको बताए । उनले परिवर्तित काँग्रेसले मात्रै युवाहरूको भावना अनुसार काम गर्न सक्ने र राष्ट्रिय राजनीतिक चुनौतीको सामना गर्न सक्ने भन्दै नेतृत्व र नीति परिवर्तन गर्न अग्रसर हुन सुझाएको बताए ।
उनले भने ‘नेतृत्व र त्यहीअनुसारको पार्टी संरचना बनाएर अघि बढ्नुपर्छ । नयाँ नेतृत्व, नीति र कार्यदिशासहति निर्वाचनमा जानुपर्छ । त्यो काँग्रेसले मात्रै अहिलेको परिवर्तित अवस्थाको नेतृत्व गर्नसक्छ । रूपान्तरित काँग्रेसले मात्रै नौजवानहरूको भावनाअनुरुप काम गर्नसक्ने र सोहीअनुसार अगाडि बढ्न सुझावहरू आएका छन् । यो परिस्थितिमा पार्टीभित्रको झगडा समाधान गरेर चुनौतीपूर्ण राष्ट्रिय राजनीतिको सामना गर्न भूमिका खेल्नुपर्नेमा उपस्थितहरूको जोड छ ।’
बुद्धिजीवी विश्वकुमार केसीले पार्टी परिवर्तन, नीति र नेतृत्व रूपान्तरणमार्फत समाजमा विश्वास पुनः स्थापित गर्ने महामन्त्री थापाको कदमप्रति उपस्थित सबैले समर्थन जनाएको बताए । उनले नेताले जोखिम लिन सक्नुपर्ने र जोखिम नलिनु नै अर्को जोखिम हुने भन्दै विशेष महाधिवेशनको पक्षमा अघि बढ्न सुझाएको बताए ।
उनले भने ‘नेपाली काँग्रेसलाई परिवर्तन गरेर जाने र नीति र नेतृत्व परिवर्तन गरेर जाने तथा समाजमा आफ्नो विश्वासलाई स्थापित गर्ने जुन कदम चालेर अघि बढ्ने जुन कदम चाल्नुभएको छ त्यसमा उपस्थित सबैले समर्थन गरेर जानुभएको छ । केदारभक्त माथेमाले दभनेजस्तै नेताले जोखिम लिन सक्नुपर्छ । जोखिम नलिनु पनि अर्को जोखिम हो । ’
पार्टीको महाधिवेशन पक्षधरले यही पुस २७ र २८ गते काठमाडौँमा दोस्रो विशेष महाधिवेशन आह्वान गरिसकेको छ । पार्टी सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काको इच्छा र सहमतिविपरित महामन्त्रीद्धय थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका हुन् । पार्टी नेतृत्वलाई महाधिवेशनको अपनत्व लिन आग्रह गरिएको छ ।









