आसन्न राष्ट्रिय सभा निर्वाचनले मुलुकमा डेमोक्रेसी छ भन्ने आभास दिन्छ: ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आसन्न राष्ट्रियसभाको निर्वाचनले मुलुकमा डेमोक्रेसी छ भन्ने आभास दिइरहेको टिप्पणी गरेका छन् ।

बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारी दिने कामले मुलुकमा डेमोक्रेसी छ भन्ने अनुभूति भइरहेको बताएका हुन् ।

उनले जनताको सर्वोच्च निकाय प्रतिनिधिसभा भङ्ग गरेर मुलुकमा डेमोक्रेसीको मजाक गरिएको जिकिर गर्दै त्यसको पुनर्स्थापना हुनै पर्ने अडान समेत दोहोर्याए ।

मुलुकलाई संवैधानिक मार्गमा फर्काउन पनि प्रतिनिधिसभा पुनस्थापना हुनुको विकल्प नरहेको ओलीको भनाई थियो । उनले संविधान मिच्न, कुल्चिन नदिन आफूहरूले प्रतिनिधि पुनस्थापनाको माग गर्नुपरेको समेत बताए ।

ओलीले भने ‘आज राष्ट्रिय सभा निर्वाचनका लागि मनोनयन भइराखेका छन् । अब यो सिद्धियो पनि । यो नियमित प्रक्रिया हो । डेमोक्रेटिक अभ्यास हो । अलिकति डेमोक्रेसी छ, अझै पनि चुनावको कुरा हुँदै छ भन्ने कुरा यसले देखाउँछ । राष्ट्रिय सभा अझै पनि छ । तर प्रतिनिधिसभा भङ्ग गरिएको छ । प्रतिनिधि सभा भङ्ग गरियो, संसद भवन आगो लगाइयो । निर्वाचित सरकार भङ्ग गरियो । र, एउटा अनाधिकृत असंवैधानिक सरकार जडान गरियो त्यहाँ । यो भन्दा डेमोक्रेसीको मजाक के हुन्छ ? त्यस्तो असंवैधानिक सरकारको अनाधिकृत सिफारिसमा सार्वभौम जनताको सर्वोच्च संस्था प्रतिनिधिसभा भङ्ग गरियो । यसो भनिरहँदा कसै प्रतिको वैयक्तिक रिसराग होइन । यो लोकतन्त्रप्रतिको हाम्रो प्रतिबद्धता हो । संविधानप्रतिको हाम्रो प्रतिबद्धता हो । संविधान संशोधन गर्न सकिन्छ । मिच्न, कुल्चिन पाइँदैन । संशोधन गरेर अगाडि जान सकिन्छ । तर मिच्न, कुल्चिन पाइँदैन । यहाँ संविधान मिचिएको छ, कुल्चिएको छ । त्यसकारण हामी भनिरहेका छौ–देशलाई संवैधानिक मार्गमा फर्काउनै पर्दछ । प्रतिनिधिसभाको पुनर्स्थापना हुनैपर्दछ ।’

अध्यक्ष ओलीले मुलुकमा अब आपराधिक गतिविधि हुन नदिन आफ्नो पार्टीले पिपुल भोलेन्टियर्स टोली टोलटोलमा परिचालन गर्ने निर्णय लिएको समेत बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − six =