हामीलाई सभापति बन्नुछैन तर पार्टी ठिक ठाउँमा उभिनुपर्छ: गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सभापति बन्नका लागि आफूहरूले विशेष महाधिवेशनको माग नगरेको स्पष्ट पारेका छन् ।
बुद्धिजीविहरुसँगको बुधवारको छलफलका क्रममा महामन्त्री थापाले यस्तो बताएका हुन् ।
उनले केही नेताहरूले आफू सभापति बन्नका लागि पार्टीमा विरोध गरिरहेको छ भन्ने आरोप लगाएको भन्दै आफूहरूलाई सभापति बन्ने चाहना नरहेको बताए । उनले सभापति बन्ने चाहना राख्ने डा। शेखर कोइराला वा अन्य कोही पनि नेताहरू सभापति बन्न सक्ने बताए ।
उनले कारोबारी राजनीतिलाई अन्त्य गर्न जरुरी रहेको बताए । महामन्त्री थापाले पार्टीलाई ठिक ठाउँमा उभ्याउने आफूहरूको एक मात्र चाहना रहेको जिकिर गरे ।
महामन्त्री थापाले भने ‘२३ र २४ गतेपछि नेपालका मुख्य मुख्य पार्टीहरूमा दुई खालका कुरा आए । एउटा हामी नै ठिक थियौँ र छौँ भन्ने कुरा आयो । बाँकी सबै गलत हुन् भन्नेकुरा आयो । एउटा विचार यो भयो । २३ र २४ गतेअघि हामी ठिक थिएनौँ भन्नेकुरा हामीले राख्यौँ । हामी उभिएको ठाउँ ठिक थिएन, गतिमति ठिक थिएन । नागरिकको रिस थियो । रिसको कारण छन्, त्यो बुझ्नुपर्छ र त्यसका आधारमा हामीले पार्टीका कार्यक्रम अघि बढाउनुपर्छ । हामीले खास गरेर कारोबारी राजनीतिलाई अन्त्य गरिदिएको छ । प्रिन्सिपल, पर्पसको कुरामा फर्किनुपर्छ । सच्याउनुपर्छ । हतार हतार अरूलाई हटाएर सभापति बन्न खोज्यो भन्ने आरोप आयो । हामीलाई सभापति बन्नेछैन बाबा । को बन्नेछ बन्नुस् । तपाईंहरुमध्ये कुन नेतालाई बन्नेछ बन्नुस् । डा। शेखर कोइरालालाई बन्नेछ बन्नुस् । अर्को नेता बन्नेछ बन्नुस् । तर पार्टीलाई ठिक ठाउँमा उभ्याउनुपर्छ ।’
महामन्त्री थापाले नेपालको ठुलो पार्टीलाई बनाऊँ भन्ने मात्रै आफूहरूको चाहना रहेको बताए । संस्था जोगाउने र परिवर्तनको मुद्दा नमार्ने गरी आफूहरू अघि बढ्न चाहेको बताए ।









