महालक्ष्मी विकास बैंंकको २४ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडको २४ औँ वार्षिक साधारण सभा बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा पौष २१ गते सोमबार त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा सम्पन्न भएको छ ।
यस अवसरमा २०८२ साल आषाढ मसान्तको वासलात तथा आ.ब. २०८१/०८२ को नाफा नोक्सान हिसाब एवं सोही अवधिको नगद प्रवाह विवरण, नाफा/नोक्सान बाँडफाँड हिसाब, ईक्विटीमा भएको परिवर्तन लगायत वार्षिक आर्थिक विवरणसँग सम्बद्ध वित्तीय विवरणहरू छलफल गरी स्वीकृत भएको बैंकले जानकारी दिएको छ ।
कम्पनीका अनुसार वार्षिक साधारण सभा मार्फत सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम १०.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव समेत अनुमोदन भएको छ । यस अन्तर्गत आ.व. २०८१/०८२ को वितरणयोग्य मुनाफा रकमबाट हाल कायम रहेको चुक्ता पुँजीको ५.३७ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर प्रयोजनार्थ समेत) तथा ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित भएको हो । अघिल्लो आर्थिक वर्षमा बैंकले ७ प्रतिशत लाभांश वितरण गरेको थियो ।
आर्थिक वर्ष २०८०/८१ को तुलनामा आर्थिक वर्ष २०८१/८२ को अन्त्यमा बैंकका समग्र वित्तीय परिसूचकहरूमा सकारात्मक परिवर्तन देखिएको छ । आर्थिक वर्ष २०८०/८१ को अन्त्यमा आधार दर ९.३९ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०८१/८२ को अन्त्यमा ६.९४ प्रतिशत रहेको छ । साथै पुँजीकोष पर्याप्तता अनुपातमा उल्लेख्य सुधार भई १४.९३ प्रतिशत बाट वृद्धि भई १७.०६ प्रतिशत पुगेको छ । आर्थिक वर्ष २०८१/८२ को अन्त्यमा बैकको निक्षेप रु. ५६.२२ अर्ब रहेको छ भने कर्जा तथा सापटी रु. ४७.२१ अर्ब रहेको छ ।
साथै यस बैंकको नियमावली बमोजिम संस्थापक समूह (क) बाट ३ जना र सर्वसाधारण समूह (ख) बाट ३ जना गरी जम्मा ६ जना सञ्चालक निर्वाचन गर्ने साधारण सभामा प्रस्ताव भए बमोजिम संस्थापक शेयरधनी समूह (क) बाट ३ जना क्रमशः राजेश उपाध्याय, संजय गिरि र ग्रोइङ्ग प्रा.लि.को तर्फबाट सागर मल्ल निर्वाचित भएका छन् भने सर्वसाधारण शेयरधनी समूह (ख) बाट ३ जना क्रमशः श्याम सुन्दर रुंगटा, राहुल अग्रवाल र शालिक राम अर्याल निर्वाचित भएका छन् ।
नवनिर्वाचित सञ्चालक समितिको आजै बसेको पहिलो बैठकबाट राजेश उपाध्यायलाई सञ्चालक समितिको अध्यक्षको रूपमा चयन गरेको छ ।
सभाका अध्यक्ष राजेश उपाध्यायले सेयर धनीहरूबाट प्राप्त सल्लाह सुझावलाई आत्मसाथ गर्दै बैंकले ग्राहकहरूको सन्तुष्टि एवं लगानीको उचित प्रतिफल प्रदान गर्न बैंकका क्रियाकलापहरूलाई थप परिमार्जन तथा विशिष्टीकरण गर्दै अझ बढी सक्षमताका साथ गुणस्तरीय वित्तीय सेवा प्रदान गर्न प्रतिवद्घता व्यक्त गरे ।
साथै शेयरधनी तथा बैङ्कसँग सम्बन्धित सम्पूर्ण सरोकार पक्षहरूले पुर्याएको सहयोगको लागि धन्यवाद दिए ।









