राष्ट्रिय सभा सदस्य निर्वाचनमा चुनावी तालमेल गर्छौं : सिटौला

काठमाडौं । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रिय सभा सदस्य निर्वाचनमा काँग्रेसले चुनावी तालमेल गर्ने बताएका छन् ।

सोमवार पत्रकार सम्मेलनका क्रममा नेता सिटौलाले राष्ट्रिय सभा सदस्य निर्वाचनमा काँग्रेस एक्लै लडेर परिणाम निकाल्न नसक्ने बताएका हुन् । उनले चुनावी तालमेललाई गठबन्धन भन्न नहुने बताए ।

प्रतिनिधि सभाको निर्वाचनमा भने काँग्रेस एक्लै आफ्ना एजेण्डाहरु लिएर जनतामाझ जाने बताए । उनले आम निर्वाचन पार्टीको सिद्धान्त, नीति, विचार संप्रेषण गर्ने माध्यम भएको बताए । ‘राष्ट्रिय सभाको निर्वाचनमा काँग्रेसले एक्लै लडेर परिणाम निकाल्न सक्दैन । त्यसैले राष्ट्रिय सभाको निर्वाचनमा चुनावी तालमेल हुन्छ । यसलाई गठबन्धन मानिँदैन । तर प्रतिनिधि सभाको निर्वाचनमा जाँदा नेपाली काँग्रेस पार्टी एक्लै चुनावमा जाने महासमितिको निर्णय छ । आम निर्वाचन भनेको पार्टीको सिद्धान्त, नीति, विचार संप्रेषण गर्ने माध्यम हो । त्यसैले काँग्रेस आफ्नो विचार लिएर जनताको माझमा जान्छ’ उनले भने ।

नेता सिटौलाले पार्टीको विशेष महाधिवेशन नहुने र यसको औचित्य सकिसकेको पनि बताए । उनले केन्द्रिय कार्य सम्पादन समितिको निर्णय सबै नेताहरुले मान्नुपर्ने र अब आगामी निर्वाचनमा लाग्नुपर्ने बेला आएको बताए ।

आगामी निर्वाचनमा एकतावद्ध भएर लाग्नसके राम्रो परिणाम ल्याउन सकिने बताए । निर्वाचनपछि १५ औं महाधिवेशन गर्ने कार्यतालिका आइसकेकाले त्यसतर्फ केन्द्रित हुनुपर्ने बताए ।

अहिले आन्तरिम प्रतिष्पर्धा गर्ने बेला नभएको भन्दै आन्तरिक प्रतिष्पर्धाको कलहबारे आफूहरु शतर्क रहेको पनि बताए । ‘विशेष महाधिवेशन हुँदैन, विशेष महाधिवेशनको औचित्य सकिसकेको छ भनेर केन्द्रिय कार्य सम्पादन समितिले निर्णय गरिसकेको छ । पार्टीको निर्णय त्यही हो । पार्टीको निर्णय सबैले मान्नुपर्छ । देशभरमा रहेका तमाम कार्यकर्ता साथीहरु निर्वाचनको तयारीमा जुट्नुपर्छ । एकतावद्ध ढंगले निर्वाचनमा जानुपर्छ । त्यो हाम्रो आजको प्रमुख र प्राथमिक विषय हो । निर्वाचनपछि १५ औं महाधिवेशन गर्ने कार्यतालिका ल्याइसकेका छौँ । त्यसपछि हामी महाधिवेशन सम्बन्धी विषयमा जुट्नुपर्छ । निर्वाचन भनेको वाह्य प्रतिष्पर्धा हो । महाधिवेशन भनेको आन्तरिक प्रतिष्पर्धा हो । यतिबेला आन्तरिक प्रतिष्पर्धा गर्ने बेला होइन । आन्तरिक प्रतिष्पर्धाको रुपमा जुन कलह हुन खोजेको छ, महाधिवेशनका नाममा त्यसमा हामी शतर्क छौँ । सजग छौँ’ उनले भने ।

काँग्रेस एकतावद्ध भएर निर्वाचनमा जानुपर्ने पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =