पोखरा स्ट्रिट फेस्टिभलमा गोर्खा ब्रुअरीको स्वच्छ वातावरण अभियान

काठमाडौं । गोर्खा ब्रुअरी र काल्र्सबर्ग ग्रुपले २७ औं पोखरा स्ट्रिट फेस्टिभलको अवसरमा स्वच्छ वातावरण अभियानको नेतृत्व गरेका छन् ।

रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेबान) पोखरा र भद्रकाली वेस्ट म्यानेजमेन्ट प्रा.लि.सँगको सहकार्यमा सञ्चालित यो अभियानले पोखराको पर्यटकीय सौन्दर्य जोगाउँदै दिगो फोहोर व्यवस्थापनलाई प्रोत्साहन गरेको छ ।

प्राकृतिक सौन्दर्यका लागि विश्वप्रसिद्ध पोखरामा ठूला महोत्सवहरूका बेला उल्लेख्य फोहोर उत्पादन हुने भएकाले सरसफाइ र जिम्मेवार व्यवस्थापन अपरिहार्य रहेको अभियानकर्ताहरूको भनाइ छ ।

यसै सन्दर्भमा गोर्खा ब्रुअरीले बोतल तथा क्यान, पुनः प्रयोग गर्न मिल्ने र सुख्खा फोहोरका लागि छुट्टाछुट्टै डस्टबिनहरू उपलब्ध गराएको थियो । यी डस्टबिनहरू लेकसाइड क्षेत्रका विभिन्न स्थानमा राखिएका थिए ।

संकलित फोहोरलाई भद्रकाली वेस्ट म्यानेजमेन्टले वातावरणमैत्री तरिकाले प्रशोधन गर्ने जिम्मेवारी लिएको छ भने रेबानले स्थानीय रेस्टुरेन्ट तथा बारहरूलाई अभियानमा सक्रिय सहभागी गराएको छ ।

गोर्खा ब्रुअरीका प्रतिनिधिले भने, “पोखरा नेपालकै स्वच्छ र सुन्दर सहर हो, जसलाई पर्यटक र स्थानीय दुवैले माया गर्छन् । डस्टबिनहरू राख्ने यो सानो प्रयासले आजको महोत्सव मात्र होइन, भविष्यमा पनि स्वच्छ पोखरा निर्माणमा योगदान पुर्‍याउने हाम्रो प्रतिबद्धता झल्काउँछ ।”

यो अभियान महोत्सव अवधिमा मात्र सीमित नरही दीर्घकालीन रूपमा पोखरामा जिम्मेवार फोहोर व्यवस्थापनको संस्कृति विकास गर्न, जनचेतना बढाउन र दिगो पर्यटनलाई सहयोग पुर्‍याउने लक्ष्यका साथ अघि बढाइएको जनाइएको छ ।

वातावरणीय दिगोपन र सामुदायिक हितप्रति गोर्खा ब्रुअरीको निरन्तर प्रतिबद्धताको एउटा उदाहरणका रूपमा हेरिएको यो पहलले नेपालभरका उत्सवहरूलाई जिम्मेवार रूपमा मनाउने प्रेरणा दिने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =