बालेन र कुलमान पक्षलाई समेट्न रास्वपाले थप्यो पदाधिकारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पद मिलान गर्न चार वटा पदाधिकारीको पद थप गर्ने निर्णय गरेको छ ।
आईतवार पार्टी केन्द्रिय कार्यालयमा बसेको केन्द्रिय समिति बैठकले उपसभापति, महामन्त्री, सहमहामन्त्री र सहप्रवक्ता एक–एक पद थप गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।
उनकाअनुसार उज्यालो नेपाल पार्टी र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहसँग एकतापश्चात पदीय समायोजनका लागि चार जना पदाधिकारीको पद थप गरिएको हो ।
झाले विवेकशीलसँग पार्टी समायोजन पछि आएकामध्ये ७ जनालाई केन्द्रीय समितिमा मनोनयन गर्ने निर्णय समेत गरेको छ ।
मनोनयन भएका सदस्यहरूमा समीक्षा बाँस्कोटा, प्रकाशचन्द्र परियार, सुरज प्रधान, नवराज थापा, आशुतोष प्रधान, धनेज थापा, रञ्जु दर्शना रहेका छन् ।
उनले पार्टीको समायोजनको बाँकी प्रक्रिया र प्रत्यक्ष निर्वाचन प्रक्रियाको कामहरु अगाडि बढाउनको लागि पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा कार्यदल समेत गठन गर्ने निर्णय गरेको बताए ।









