रिंगटा लागेपछि प्रधानमन्त्री कार्कीका श्रीमान् दुर्गा सुवेदी अस्पताल भर्ना

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान् दुर्गा प्रसाद सुवेदी स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा बिहीबार भर्ना भएका सुवेदीको स्वास्थ्यमा गम्भीर समस्या देखिएको अस्पताल स्रोतले जनाएको छ ।
उपचारमा संलग्न चिकित्सकका अनुसार उनमा पिसाबमा संक्रमण, शरीरमा सोडियमको मात्रा कम हुने (हाइपोनेट्रेमिया), रिंगटा लाग्ने लगायतका लक्षणहरू देखिएका छन् । चिकित्सकले अन्य थप स्वास्थ्य जटिलताबारे भने विस्तृत जानकारी दिन चाहेनन् ।
सुवेदीले यसअघि प्रोस्टेटको शल्यक्रिया गराइसकेका छन् । पछिल्लो समय संक्रमण बढेका कारण रिंगटा लाग्ने, कमजोरी देखिने जस्ता समस्या बढेपछि उनी अस्पताल भर्ना भएको बताइएको छ । अहिले उनलाई क्याबिनमा राखेर उपचार भइरहेको छ भने विशेषज्ञ चिकित्सकहरूको टोलीले निगरानी गरिरहेको छ ।









