पोखरा विश्वविद्यालय सुधारको माग गर्दै बुझाइयो संयुक्त माग पत्र

काठमाडौँ। पोखरा विश्वविद्यालयका शैक्षिक, प्रशासनिक संरचना तथा विद्यार्थीसम्बन्धी विभिन्न समस्या समाधानको माग गर्दै विश्वविद्यालय प्रशासनसमक्ष संयुक्त माग पत्र बुझाइएको छ।

विभिन्न विद्यार्थी तथा सरोकारवाला समूहको तर्फबाट बुझाइएको माग पत्रमा विश्वविद्यालयको नीति, प्रणाली र व्यवस्थापनमा समयानुकूल सुधार आवश्यक रहेको उल्लेख गरिएको छ।

माग पत्रमा विश्वविद्यालयको समग्र शैक्षिक गुणस्तर, प्रशासनिक पारदर्शिता तथा विद्यार्थीमैत्री वातावरण कमजोर बन्दै गएको भन्दै तत्काल सुधारका कदम चाल्न आग्रह गरिएको छ।

माग पत्रअनुसार विश्वविद्यालयमा कुलपति, उपकुलपति, रजिस्ट्रार, डिन, निर्देशक तथा अन्य जिम्मेवार पदाधिकारीको भूमिका प्रभावकारी नदेखिएको उल्लेख गरिएको छ। शैक्षिक गतिविधि, परीक्षा प्रणाली, भर्ना प्रक्रिया र नतिजा प्रकाशनमा ढिलासुस्ती तथा अव्यवस्था बढेको आरोप लगाइएको छ।

माग पत्रमा पोखरा विश्वविद्यालयमा केन्द्रीय प्रवेश परीक्षा (Centralized Entrance Examination) प्रणाली अव्यवस्थित भएको उल्लेख गर्दै यसलाई पारदर्शी, निष्पक्ष र समयमै सञ्चालन गर्न माग गरिएको छ। साथै, आन्तरिक मूल्याङ्कन प्रणालीमा सुधार, विद्यार्थीलाई अनावश्यक तनाव दिने अभ्यासको अन्त्य र परीक्षा नतिजा समयमै प्रकाशन गर्नुपर्ने माग गरिएको छ।

त्यसै गरी, विश्वविद्यालयका आङ्गिक तथा सम्बन्धन प्राप्त कलेजहरूको अनुगमन प्रभावकारी नभएको, भौतिक पूर्वाधार र शैक्षिक जनशक्ति अभाव रहेको भन्दै त्यसतर्फ विश्वविद्यालय प्रशासनले ध्यान दिनुपर्ने माग गरिएको छ। मेरिट बेस्ड प्रणाली लागू गरी भर्ना तथा छात्रवृत्ति वितरण गर्नुपर्ने विषय पनि माग पत्रमा समेटिएको छ।

माग पत्रमा स्नातक र स्नातकोत्तर तहका पाठ्यक्रम समयानुकूल परिमार्जन गर्नुपर्ने, अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता दिनुपर्ने तथा विद्यार्थीको शैक्षिक भविष्य सुनिश्चित गर्न स्पष्ट नीति आवश्यक रहेको उल्लेख गरिएको छ।

माग पत्र बुझाउने पक्षले तोकिएको समयभित्र मागहरू सम्बोधन नभए थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्न सकिने चेतावनी पनि दिएका छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − six =