आगामी आर्थिक वर्षभित्र संघीय शिक्षा ऐन पारित गराउने गरी काम भइरहेको छ : शिक्षासचिव पौडेल

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षभित्र संघीय शिक्षा ऐन संसदबाट पारित गराउने कार्य योजना तय गरेको छ ।

शिक्षासचिव चुडामणि पौडेलले विद्यालय शिक्षामा देखिएको समस्या समाधान गर्नका लागि पनि सरकारले उक्त ऐन आगामी आर्थिक वर्षभित्र संसदबाट पारित गराउने कार्य योजना तय गरी शिक्षा तथा खेलकुद मन्त्रालय अघि बढेको बताएका हुन् ।

मंगलवार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले उक्त ऐन संसदबाट पारित नभएको कारण विद्यालय शिक्षामा देखिएका विकृति, विसंगतिको अन्त्य गर्न नसकिएको पनि स्पष्ट पारे ।

सचिव पौडेलले विद्यालय तहमा देखिएको शिक्षकहरूको दरबन्दीको समस्या पनि उक्त ऐन आएपछि स्वतह हल भएर जाने जिकिर गरे ।

उनले भने, ‘स्थानीय तहमा शिक्षाको एक किसिमको अधिकार दिइएको अवस्था छ । प्रदेशमा त्यही छ । र संघमा पनि छ । यसलाई व्यवस्थित बनाउने भनेको शिक्षा ऐन हो । आउने आर्थिक वर्ष भित्रमा नेपाल सरकारले शिक्षा ऐन पारित भन्ने हिसाबले मन्त्रालयले कार्य योजना बनाएर अघि बढिसकेको हुँदाखेरी त्यो आएपछि विद्यालय शिक्षासँग रहेका शासकीय सन्दर्भमा, गुणस्तरमा देखिएको समस्याको सन्दर्भमा धेरै विकृतिहरू र शिक्षक म्यानेजमेन्टका सन्दर्भमा देखिएका समस्यालाई त्यसले समाधान गर्छ नै ।’

सरकारले उक्त ऐन ल्याउन नसक्दा विद्यालय शिक्षामा प्रशासनिक तथा व्यवस्थापकीय दुवै समस्या देखिएको सचिव पौडेलले बताए ।

उनले विद्यालय शिक्षाको गुणस्तर बढाउन पनि तीन वटै तहका सरकारहरूले मिलेर काम गर्नुपर्ने अवस्था रहेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =