तराईमा तातो लहर कायमै

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले नेपालमा मनसुन प्रवेश भए पनि तराईमा तातो लहरको जोखिम कायमै रहने जनाउ दिएको छ ।

लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहे पनि तराईका एक दुई स्थानमा तातोलहर (हिटवेभ)को जोखिम कायमै रहेको विभागले सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमापनि तातोलहर चल्न सक्ने सम्भावना औँल्याइएको छ ।

मौसम पूर्वानुमान अनुसार धनगढी र नेपालगन्जमा आज तातो हावाको लहर (हिटवेभ) चल्ने सम्भावना र धनगढीमा अधिकतम तापक्रम ३८ देखि ४० डिग्री सेल्सियस तथा नेपालगन्जमा ३९ देखि ४१ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको छ ।

वीरेन्द्रनगर, घोराही र भैरहवालगायतका तराई क्षेत्रमा ‘तातो दिन’ को अवस्था रहने, तथा पोखरा, काठमाडौँ, ओखलढुङ्गा, धनकुटा, विराटनगर, धरान, जिरी र ताप्लेजुङलगायत क्षेत्रमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

पोखरा, ओखलढुङ्गा, धनकुटा, विराटनगर र ताप्लेजुङमा वर्षाको सम्भावना ४० प्रतिशतसम्म रहेको विभागले पूर्वानुमान गरेको छ ।

काठमाडौँ उपत्यकामा आज दिउँसो मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना ४० प्रतिशत रहेको छ भने राति हल्का वर्षाको सम्भावना ३० प्रतिशत रहेको विभागले जनाएको छ ।

उपत्यकाको अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियस र न्यूनतम तापक्रम २० देखि २२ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ ।

विभागका मौसमविद् सञ्जीव अधिकारीले आज देशका अधिकांश प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जानकारी दिए ।

उनले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षा हुने सम्भावना रहेको बताए ।

विभागले जारी गरेको प्रादेशिक मौसम पूर्वानुमानअनुसार कोशी प्रदेशका हिमाली, पहाडी र तराई क्षेत्रका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ ।

त्यसैगरी,बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा पनि वर्षाको गतिविधि सक्रिय रहने अनुमान गरिएको छ ।

मधेस प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रही एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुनसक्ने जनाइएको छ ।

बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा भने वर्षासँगै तातो दिनको अवस्था रहने सम्भावना छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ भने रातिको समयमा अधिकांश तराई क्षेत्रमा मौसम सामान्यतया सफा रहने बताइएको छ ।

विभागले मेघगर्जन, चट्याङ तथा तातो लहरबाट प्रभावित हुनसक्ने क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + eleven =