कृषि क्षेत्रको रुपान्तरणका लागि मुक्तिनाथ विकास बैंकको ‘एग्री-फाइनान्स ३६०’

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो स्थापनाको २०औं वर्ष प्रवेशको अवसरमा कृषि क्षेत्रको विकास र किसानको दिगोपनका लागि ‘मुक्तिनाथ एग्री-फाइनान्स ३६०’ कार्यक्रम आयोजना गरेको छ । शुक्रबार आयोजित कार्यक्रममा कृषि क्षेत्रमा लगानी विस्तार, उत्पादकत्व वृद्धि र यस क्षेत्रको चुनौतीका विषयमा बृहत् छलफल गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदन परियारले कृषि क्षेत्रको समग्र विकासका लागि सरकारका तर्फबाट उत्प्रेरणात्मक वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए । उनले कृषि लगानी विस्तार र कर्जाको गुणस्तर सुदृढ बनाउन क्रेडिट ग्यारेन्टी, वित्तीय साक्षरता, कृषि बीमा र मूल्य शृङ्खलामा समन्वय आवश्यक रहेको बताए । उनले भने, ‘महिला मैत्री कृषिको विकास गर्ने, प्रविधिलाई जोडेर युवा लक्षित स्वरोजगार सिर्जना गर्ने र साना किसानको स्तरउन्नतिका लागि सबै पक्षले कदम चाल्न जरुरी छ ।’
मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्रले निजीकरणपछि कृषि क्षेत्रको मूल्य शृङ्खला टुटेको उल्लेख गर्दै अब बैंक तथा वित्तीय संस्थाहरुले आफ्नै सहायक कम्पनीमार्फत कृषि क्षेत्रमा काम गर्नुपर्ने सुझाव दिए । यसका लागि नेपाल राष्ट्र बैंकले आवश्यक समन्वय गर्नुपर्नेमा उनले जोड दिए । बैंकिङ विज्ञ अजय श्रेष्ठले ‘नेपालमा कृषि उद्यम लगानीको चुनौती र अवसर’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै कृषि ऋणमा रहेको उच्च जोखिम र कमजोर कर्जा गुणस्तरलाई प्रमुख चुनौतीका रूपमा औंल्याए । उनले डिजिटल वित्तीय सेवा (एआईमा आधारित क्रेडिट स्कोरिङ मोडेल), मूल्य शृङ्खला विस्तार र निजी क्षेत्रसँगको सहकार्यलाई मुख्य अवसरका रूपमा प्रस्तुत गरे । उनले नेपालको कृषि उत्पादकत्व अन्य देशको तुलनामा कम रहे पनि यसमा सुधार गर्ने पर्याप्त सम्भावना रहेको तथ्याङ्क प्रस्तुत गरे ।
कार्यक्रममा ‘नेपाल कृषि उद्यमहरूमा कसरी फस्टाउन सक्छ ?’ शीर्षकमा प्यानल छलफल समेत गरिएको थियो । बैंकिङ विज्ञ भुवन दाहालले सहजीकरण गरेको उक्त छलफलमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल, कृषि विकास बैंकका सीईओ गोविन्द गुरुङ, नेपाल उद्योग वाणिज्य महासंघका डीबी बस्नेत र कृषि उद्यमी विमला आचार्य दाहालले भाग लिएका थिए ।
छलफलमा सहभागी वक्ताहरूले कृषि कर्जालाई प्राथमिकता दिनुपर्ने, नीतिगत परिमार्जन गरी व्यवहारिक बनाउनुपर्ने र वित्तीय संस्थाहरूलाई बाध्यकारीभन्दा पनि उत्प्रेरणात्मक वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए । प्रदेश स्तरमा भण्डारण, नमूना खेती र बजारको सुनिश्चितता गर्नुपर्ने तथा महिला उद्यमीलाई प्रोत्साहन गर्नुपर्ने निष्कर्ष छलफलले निकालेको छ । कृषि उत्पादनका लागि गुणस्तरीय बीउ, मल, सिँचाइ र कृषि बीमाको पहुँचलाई सहज बनाउनुपर्नेमा समेत वक्ताहरूले जोड दिए ।
कार्यक्रममा सरकारी निकाय, गैरसरकारी संस्था, राष्ट्र बैंक, विभिन्न बैंकका सीईओ, कृषि कर्जा प्रमुख, बीमा कम्पनी, विश्वविद्यालयका प्राध्यापक, अनुसन्धानकर्ता र कृषि उद्यमी गरी करिब ३५० जनाको सहभागिता थियो । बैंकका अध्यक्ष खिम प्रकाश मल्लको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सञ्चालक उमेश कुमार आचार्यले स्वागत मन्तव्य राखेका थिए भने सीईओ प्रद्युम्न पोखरेलले कार्यक्रमको सारसंक्षेप प्रस्तुत गरेका थिए । राष्ट्र बैंकका कार्यकारी निर्देशक विश्रुत थापा र प्रवक्ता गुरुप्रसाद पौडेलले समेत कार्यक्रममा आफ्ना धारणा राखेका थिए ।
बैंकिङ क्षेत्रमै पहिलो पटक आयोजना गरिएको दाबी गरिएको यस कार्यक्रमले कृषिसम्बन्धी सबै सरोकारवालालाई एउटै मञ्चमा ल्याएर भविष्यको मार्गचित्र कोर्न सफल भएको बैंकले जनाएको छ । मुक्तिनाथ विकास बैंकले आगामी दिनमा पनि ग्रामीण क्षेत्रको समृद्धि र कृषि उद्यमलाई सबल बनाउन निरन्तर योगदान दिने प्रतिबद्धता व्यक्त गरेको छ ।









