धनराज गुरुङको प्रश्न: सबै आ-आफ्नो बाटो हिँड्दा पार्टी कहाँ पुग्छ?

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले पार्टीलाई एकताबद्ध बनाउनेमा आफूहरूको जोड रहने बताएका छन् ।
शनिवार काँग्रेस नेता डा. शेखर कोइराला पक्षधर नेताहरूको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले फरक मत राखेका नेताहरूलाई पनि समेटेर मूलधारमा ल्याउने बताए । उनले पार्टीलाई कुनैपनि हालतमा चोइटिन नदिने दाबी गरे । विशेष महाधिवेशन पक्षधरलाई साथ दिने वा नदिने भन्नेकुरा गौण भएको पनि उल्लेख गरे ।
उपसभापति गुरुङले सिङ्गो पार्टीलाई बलियो बनाउन सबै एकजुट हुनुपर्ने बताए । सबै आफ्नो आफ्नो बाटो हिँड्दा पार्टी कहाँ पुग्छ भन्नेकुरा विचार गर्नुपर्ने बताए ।
उनले भने ‘पार्टीलाई कुनैपनि हालतमा चोइटिने, टुक्रिन दिनेकुरा हुँदैन भन्ने कोणबाट हामीले कुरा गरेका छौँ । सँगै सबै साथीहरूलाई समेटेर फेरि पार्टीमा मूलधारमा नै लिएर जाने भन्नेकुरा छ । विशेष महाधिवेशन पक्षधरलाई साथ दियो दिएन भन्नेकुरा गौण हो । सिङ्गो पार्टीलाई कसरी लैजाने भन्नेकुरा प्राथमिकतामा हुन्छ । कसलाई साथ दिने नदिने भन्नेकुरा गौण हो । पार्टी कहाँनेर पुग्छ भन्नेकुरा महत्त्वपूर्ण हुन्छ । पार्टीलाई कसरी सबलीकरण गर्दै लैजाने भन्नेकुरा प्रमुख कुरा हो, अहिले । परिवारमा दिनदिनै झगडा गर्यो भने के हुन्छ, त्यो परिवार रु त्यो परिवार बलियो हुन्छ कि कमजोर हुन्छ रु त्यस्तै गरेर पार्टी पनि एउटा परिवार हो । परिवारभित्र धेरै झगडा गर्नहुन्न ।’
उनले पार्टीमा धेरै विवाद सिर्जना हुँदा पार्टी कमजोर बन्ने र त्यसको फाइदा अरूलाई हुने बताए ।









