गगन-विश्वप्रकाशलाई जीवन परियारको जवाफ- ‘पार्टी व्यक्तिगत कम्पनी होइन, बहुमतको निर्णय मान्नैपर्छ’

काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको विशेष महाधिवेशन पुसभित्रै गर्ने अडानप्रति आपत्ति जनाएका छन् ।
शनिवार काँग्रेस नेता डा. शेखर कोइराला पक्षधर नेताहरूको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आपत्ति जनाएका हुन् ।
उनले विशेष महाधिवेशन जसरी पनि गर्ने महामन्त्रीहरूको अडान पार्टीको निर्णय नभई व्यक्तिगत मत भएको दाबी गरे । पार्टीभित्र विशेष महाधिवेशनको सन्दर्भमा बहस, विचार, विमर्श भएकोले पार्टीको अन्तिम निर्णयलाई आत्मसाथ गरेर जानुपर्नेमा जोड दिए । पार्टीमा रहेका सबै नेताहरूको एउटै विचार नहुने भन्दै पार्टीको निर्णय स्वीकार गरेर जानुपर्ने बताए ।
पार्टीको निर्णय चित्त नबुझे नेता, कार्यकर्तामाझ आफ्ना मुद्दा बोकेर जान सकिने उल्लेख गरे ।
उनले भने ‘अब विशेष महाधिवेशन जसरी पनि गर्ने भन्ने सन्दर्भमा यो उहाँ (महामन्त्री) को कुरा भयो । सबैको विचार एउटै हुनुपर्छ भन्ने छैन । त्यसैले यसलाई कसरी लिएर जाने, यसको औचित्य के हो ? यसको निष्कर्ष के हो ? यो कहाँ पुग्छ, भन्नेकुरामा मतमतान्तर हुनसक्छ पार्टीमा । त्यसैले उहाँले जे भन्नुभएको थियो, त्यही नै सही हो । मैले जे भनेको छु, त्यही नै सही हो भन्ने त हुँदैन । पार्टीभित्र छलफल हुनुपर्छ । यो त पार्टी हो नि, कुनै व्यक्तिगत कम्पनी त होइन । पार्टीमा विभिन्न विचार हुनसक्छ, त्यसलाई छलफल हुन्छ । छलफलबाट जे निष्कर्ष आउँछ, त्यसैलाई लिएर हामी अगाडी बढ्ने हो । अथवा चित्त बुझेन भने त्यो कुरा लिएर जनताको माझमा जाने हो । कार्यकर्तामा जाने हो । यसको बारेमा पार्टीमा पनि छलफल चलेको छ, त्यसबाट जे निष्कर्ष निस्किन्छ, त्यो नै हाम्रो धारणा बन्नुपर्छ ।’
सहमहामन्त्री परियारले बहुमत पार्टीका सदस्यहरूले गरेको निर्णयलाई लत्याएर महामन्त्रीहरुले आफूले गरेको निर्णय नै सही र सत्य हुने दाबी गर्न नहुने पनि बताए । काँग्रेसको शुक्रवार बसेको केन्द्रीय कार्यसमितिको बैठकले आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौँमा १५ महाधिवेशन गर्ने निर्णय गरेको छ । यता महामन्त्रीद्वयले भने पुसको अन्तिमसम्म विशेष महाधिवेशन गरी छोड्ने अडान लिएका छन् ।









