ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सव, सामाजिक उत्तरदायित्वका १९ कार्यक्रम घोषणा

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवलाई विशेष बनाउँदै संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत १९ वटा प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ ।

नेपालको अग्रणी वाणिज्य बैंकका रूपमा स्थापित यो संस्थाले विगतका वर्षहरूमा जस्तै यसपटक पनि वार्षिकोत्सवको अवसर पारेर ठुलो स्तरको सामाजिक योगदान दिने कार्यक्रमहरू अगाडि सारेको हो ।

गत वर्ष १८औँ वार्षिकोत्सवका अवसरमा बैंकले मानवीय सहयोग, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता लगायत कार्यक्रम आयोजना गरेको थियो । बैंकले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा मुलुकभर १८ हजार बिरुवाहरू रोप्ने कार्यक्रम घोषणा गरेको थियो ।

गत वर्ष बैंकले स्थानीय तह, स्थानीय संघसंस्था तथा सामुदायिक संस्थाहरूको सहकार्यमा वातावरण संरक्षण, जीविकोपार्जन तथा आयआर्जनमा उपयोगी करिब २१ हजार बिरुवा रोपण गरेको थियो ।
१९औँ वार्षिकोत्सवका अवसरमा बैंकले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता तथा मानवीय सहयोग, आयआर्जन अभिवृद्धिलाई प्राथमिकता दिँदै दुर्गम क्षेत्र, गरिब, विपन्न तथा न्यून आय भएका समुदायलाई लक्षित गरी यी कार्यक्रमहरू देशव्यापी रूपमा सञ्चालन गर्ने बताइएको छ ।

यी कार्यक्रमहरू मध्ये ग्लोबल आइएमई स्वस्थ नारी पहल एक महत्त्वपूर्ण कार्यक्रम भएको बैंकले जानकारी दिएको छ । जसअन्तर्गत बैंकले सातवटै प्रदेशमा १४ वटा निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गर्ने बताइएको छ ।

बैंकका अनुसार शिविरमा स्त्रीरोग विशेषज्ञहरूले स्वास्थ्य जाँच, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स उपचार तथा औषधि वितरण जस्ता सेवाहरू प्रदान गरिनेछ । यसरी शिविरको क्रममा प्रारम्भिक अवस्थामा पत्ता लागेका तथा गम्भीर बिरामी महिलाहरूको शल्यक्रिया उपचार दोस्रो चरणमा समेत गरिनेछ ।

बैंकले सात प्रदेशका सात स्थानमा वृहत् आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर आयोजना गर्नेछ । गरिब, विपन्न तथा न्यून आय भएका व्यक्तिहरूलाई लक्षित यो कार्यक्रमले पैसाको अभावमा उपचार नपाएका दुर्गम क्षेत्रका गरिब, विपन्न तथा न्यून आय भएका व्यक्तिहरूको आँखाको समस्याको उपचारमा सहयोग हुने विश्वास लिएको बैंकले जनाएको छ ।

यसका साथै, बैंकले सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत १,५०० गरिब, विपन्न तथा न्यून आय भएका विद्यार्थीहरूको आँखा जाँच गरी आवश्यक चस्मा निःशुल्क रूपमा वितरण गर्नेछ ।
त्यसैगरी, बैंकले सात वटै प्रदेशमा स्वास्थ्य शिविरहरू पनि सञ्चालन गरी गरिब तथा न्यून आय भएका समुदायलाई स्वास्थ्य सेवा पुर्याइनेछ ।

यसका साथै, जटिल तथा दीर्घ रोगका बिरामीहरूको उपचारको लागि बैंकले आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । स्थानीय निकाय तथा स्वास्थ्य संस्थाको सिफारिसमा बैंकले जटिल रोगको उपचारमा निश्चित रकम सहयोग प्रदान गरिने बताएको छ ।

शिक्षा क्षेत्रमा बैंकले गरिब तथा जेहेन्दार छात्राहरूलाई कक्षा ६ देखि १२ सम्म छात्रवृत्ति प्रदान गर्दै आएको छ । विगत पाँच वर्षमा १४० छात्रालाई लाभान्वित गरेको यो कार्यक्रम यस वर्ष थप ७७ जनासहित छात्राहरूमा विस्तार हुनेछ । दुर्गम विद्यालयहरूमा पुस्तकालय निर्माण, १,००० जना विद्यार्थीलाई विद्यालय पोसाक तथा शैक्षिक सामग्री वितरण, प्राथमिक उपचारको तालिम तथा सामग्री हस्तान्तरण जस्ता कार्यक्रमहरू पनि समावेश छन् ।

त्यसैगरी, बैंकले अर्थशास्त्र, व्यवस्थापन तथा कानुन संकायमा उच्च शिक्षा अध्ययनरत गरिब तथा जेहेन्दार विद्याथीलाई एमफिल तथा पिएचडी शोध, अनुसन्धानका लागि वित्तीय सहयोग प्रदान गर्नेछ । वातावरण संरक्षणतर्फ ग्लोबल ग्रिन स्कुल कार्यक्रमअन्तर्गत प्लास्टिक विस्थापन, वृक्षारोपण, सरसफाइ तथा फोहोर सङ्कलन केन्द्र स्थापना गर्नेछ ।

स्थानीय तहसँग समन्वय गरी फोहोर व्यवस्थापन तालिम सञ्चालन गरिने, रक्तदान कार्यक्रम मुख्य सहरहरूमा आयोजना गरिनेछ भने आश्रम, बालगृहका बालबालिकालाई खाद्यान्न तथा अन्य सहयोग प्रदान गरिने, सूचना प्रविधिको विकास र आधुनिक प्रविधिको अवलम्बनसँगै बालबालिकाहरूमा देखा परेको अटिजमको बारेमा चेतनामूलक कार्यक्रमहरू सञ्चालन गरी उनीहरूलाई आवश्यक सहयोग प्रदान गरिने बताइएको छ ।

त्यसैगरी, स्वस्थ र अनुशासित युवा जनशक्ति निर्माण गरी राष्ट्र निर्माणमा सहयोग गर्ने उद्देश्यले बैंकले दुर्गम क्षेत्रका गरिब, विपन्न तथा न्यून आय भएका समुदाय तथा विद्यालयमा खेलकुद सामग्री वितरण गर्ने छ ।

साथै, बैंकले आय आर्जन क्षमता अभिवृद्धि गर्ने उद्देश्यले उद्यमशाला कार्यक्रम सञ्चालन गर्नेछ । यस उद्यमशाला कार्यक्रमअन्तर्गत गरिब तथा न्यून आय भएका व्यक्तिहरूलाई व्यावसायिक तथा सीपमूलक तालिम प्रदान गर्नेछ ।

बैंकले आफ्ना ३५२ वटै शाखाहरूमार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी विद्युतीय ठगी तथा चोरी न्यूनीकरणका लागि सचेतना फैलाउनुका साथै अधिकतम जनसङ्ख्यालाई बैंकिङ्ग प्रणालीमा समावेश गर्ने कार्यक्रमहरूको आयोजना गर्ने बताएको छ ।

यी सबै पहलले समाजका कमजोर वर्गलाई प्रत्यक्ष लाभ पुर्याउने र दीर्घकालीन विकासमा योगदान दिने अपेक्षा गरिएको बैंकले जनाएको छ ।

बैंकका कार्यक्रमहरूमा मुलुकका सातवटै प्रदेशलाई समेट्ने गरी गरिब, विपन्न तथा न्यून आय भएका समुदायलाई समावेश गरिने बताइएको छ । यो प्रयासले स्वास्थ्य, शिक्षा तथा वातावरणीय जागरणमा ठुलो प्रभाव पार्ने विश्वास गरिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =